दलित समाचार » गुल्मीका दलित विद्यार्थीलाई उच्च माविसम्म निःशुल्क शिक्षा |
||
| गुल्मीका दलित विद्यार्थीलाई उच्च माविसम्म निःशुल्क शिक्षा
Posted: November 12, 2009 गगनशिला खड्का २७ कात्तिक, तम्घास । गुल्मीका सरकारी विद्यालयहरुका दलित विद्यार्थीहरुले उच्च माविसम्म निःशुल्क शिक्षा अध्ययन गर्न पाउने भएका छन् । दलित विद्यार्थीहरुले यस अघि विद्यालयलाई तिरेको शुल्क पनि फिर्ता पाउने भएका छन् । दलित विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्न एकीकृत नेकपा माओवादी नेतृत्वको सरकारले ल्याएको नीति लागू गर्न माग गर्दै जिल्ला शिक्षा कार्यालय घेराउ गर्न पुगेका नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाका कार्यकर्ता र जिल्ला शिक्षा कार्यालयका पदाधिकारीहरुबीच विहीबार सबै दलित विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क अध्यापन गराउने सहमति भएको हो । निमित्त जिल्ला शिक्षा अधिकारी थानेश्वर घिमिरेको अध्यक्षतामा बसेको बैठकले सबै सरकारी विद्यालयका दलीत विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने र यस वर्ष कुनै विद्यालयले अनियमित किसिमले शुल्क लिएको भए सो शुल्क फिर्ता गर्ने सहमति भएको छ । उनीहरुबीच भएको पाँच बुदे सहमतिपत्रमा विद्यालयमा वितरण गरिने छात्रवृत्ति सम्बन्धि लगत वितरणको विवरण दलित मुक्तिमोर्चा गुल्मीलाई जानकारी गराउने, दलित छात्रवृत्ति वितरण गरिएको/नगरिएको वा दुरुपयोग भए नभएको जिल्ला शिक्षा कार्यालय र मोर्चाले पनि अनुगमन गर्ने र अनियमितता भएको भए जिल्ला शिक्षा कार्यालयबाट आवश्यक कारवाही गर्ने, दलित विद्यार्थीहरुलाई निःशुल्क शिक्षा प्रदान गर्ने र यसअघि अनियमित किसिमले शुल्क लिएको भए फिर्ता गर्न गराउन पत्राचार गर्ने सहमति भएको छ । साथै प्रत्येक विद्यालयमा अनिवार्य दलित शिक्षक हुनुपर्ने मोर्चाले राखेको मागका सम्बन्धमा जिल्ला शिक्षा कार्यालयले शिक्षा मन्त्रालयमा अनुमतिका लागि पत्र पठाउने सहमतिसमेत भएको छ । आफ्ना मागहरुमा सहमति भएपछि मोर्चाले कात्तिक २० गतेदेखि जिल्ला शिक्षा कार्यालयमा गाडेको कालो झण्डा निकाल्दै आन्दोलनका आगामी कार्यक्रमसमेत स्थगित गरेको छ । यस सहमतिको कुनै विद्यालयहरुले वेवास्ता गरी दलित विद्यार्थीहरुलाई निःशुल्क शिक्षाबाट बञ्चित गराउन खोजे स्वयम् दलित विद्यार्थीहरुले पनि आ-आफ्नो विद्यालयबाट आन्दोलन गर्न मोर्चाले आह्वान समेत गरेको छ । बैठकमा जिल्ला शिक्षा कार्यालयका तर्फबाट निमित्त जिल्ला शिक्षा अधिकारी घिमिरे, शाखा अधिकृत हरिलाल अर्याल, लोकनाथ मरासीनी, पिताम्बर पन्थी, खगेश्वर घिमिरे, लालमणी भण्डारी, विरेन्द्र कुँवर र नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाका अध्यक्ष चन्द्र बहादुर विश्वकर्मा, धर्मराज विश्वकर्मा, प्रेम सुनार, प्रशान्त बराल टिकाराम विश्वकर्मा र गोपाल परियार सहभागी हुनुहुन्थ्यो । श्रोत: http://www.onlinekhabar.com/ « Go Back |
Supporters / Sponsors :
