दलित समाचार » दलित छात्रवृत्तिको रकम प्रअको खल्तीमा |
||
| दलित छात्रवृत्तिको रकम प्रअको खल्तीमा
Posted: November 12, 2009
सन्तोष थापा/पर्वत
दलित विद्यार्थीका लागि आएको दुई वर्षको छात्रवृत्ति रकम विद्यालयका प्रधान्ााध्यापकले दुरुपयोग गरेको खुलासा भएको छ । पर्वतको भोक्सिङ- ३ बाघमारामा रहेको शिवालय प्राविमा छात्रवृत्ति
रकमबाट प्रअ दीपक मल्लले आफ्नै खल्ती भरेका हुन् । उनले आर्थिक वर्ष
०६४/६५ र ०६५/६६ मा विद्यालयका १६ जना दलित बालबालिकाका लागि आएको
छात्रवृत्ति रकम वितरण नै नगरेको पाइएको छ । दुवै आर्थिक वर्षमा प्राथमिक तहका १६ जना विद्यार्थीले तीन सय ५० का
दरले पाउनुपर्ने रकम विद्यार्थीलाई वितरण नगरी मल्ल आफैले खाएका हुन् ।
छात्रवृत्ति रकम अहिलेसम्म कुनै दलित विद्यार्थीले नपाएपछि अभिभावक तथा
दलित अधिकारकर्मीले विरोध जनाएका छन् । आफ्ना छोराछोरीले पाउने छात्रवृत्तिको विषयमा पटक-पटक सोधपुछ गर्दा
प्रअ मल्लले आलटाल गर्दै पन्छाउने गरेको अभिभावकको गुनासो छ । 'जहिले
जाँदा पनि अल्मल्याउने काम मात्रै गर्दै आएका छन्,' नातिनीहरूले दुई
वर्षदेखि छात्रवृत्ति रकम नपाएको गुनासो गर्दै अभिभावक तिलबहादुर विकले
भने । जिल्लामा क्रियाशील दलित अधिकार निगरानी समूह, छुवाछूत निगरानी समूह,
राष्ट्रिय दलित विकास संस्था पर्वतलगायतले गरेको अध्ययनका क्रममा कुनै
दलित विद्यार्थीले छात्रवृत्ति पाउन नसकेको देखिएको हो । स्थानीय अभिभावक
र शिक्षकले समेत रकम वितरण भएकोबारे अनभिज्ञता दर्शाएका थिए । 'विद्यालयका अध्यक्षलाई नै छात्रवृत्ति रकमसम्बन्धी कुनै जानकारी छैन,'
अध्ययनपछि फर्केका दलित अधिकार निगरानी समूहका संयोजक लालबहादुर हरिजनले
भने । उक्त छात्रवृत्ति रकम लक्षित समूहमा पुर्याउन प्रयास गरिएको र जिल्ला
शिक्षा कार्यालयले समेत स्रोत केन्द्रका प्रतिनिधिमार्फत अध्ययन अनुसन्धान
गरेर निचोड निकाल्ने आश्वासन दिएको राष्ट्रिय दलित विकास संस्थाका अध्यक्ष
उद्वीर नेपालीले बताए । श्रोत: नयाँ पत्रिका, २५ कात्तिक २०६६ « Go Back |
Supporters / Sponsors :
