दलित समाचार » डिएनएबाट नाता कायम गर्न आदेश
डिएनएबाट नाता कायम गर्न आदेश
Posted: August 25, 2009

ध्रुव दंगाल

सिन्धुपाल्चोक, ८ भदौ

सिन्धुपाल्चोक जिल्ला अदालतले नाता कायमसम्बन्धी एक मुद्दामा पहिलोपटक डिएनए परीक्षणको आदेश दिएको छ । दलित विधवा आमाबाट जन्मेका एक युवकले बाबु-छोराको नाता कायम गर्न माग दाबी गर्दै दिएको मुद्दामा अन्तिम फैसला सुनाउनुअघि अदालतले यो आदेश दिएको हो ।

जिल्ला न्यायाधीश तेजबहादुर कार्कीको इजलासले मुद्दाका वादी पाँग्रेटार-६ की रत्नमाया विक र उनका छोरा ईश्वर तथा प्रतिवादी छिमेकी चित्रबहादुर घर्तीक्षेत्रीलाई डिएनए परीक्षणको आदेश दिएको हो । उनीहरूलाई राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षण गर्न भनिएको छ ।

पितृत्व पहिचानसहित अंश माग दाबी गर्दै आमा रत्नमायाले दिएको मुद्दाको फैसला प्रतिवादी चित्रबहादुरको पक्षमा भएको एक दशकपछि ईश्वरले नाता कायमको मुद्दा हालेका थिए । मुद्दा परेको डेढ वर्षपछि अदालतले केही दिनअघि मात्र डिएनए परीक्षणको आवश्यकता देखाएको हो ।

असोज ०४४ मा रत्नमायाको कोखबाट ईश्वर जन्मेका थिए । जतिवेला आमा रत्नमाया विधवा थिइन् । सुत्केरी भएको २६ दिनपछि रत्नमायाले छिमेकी चित्रबहादुरसँगको करणी सम्बन्धबाट ईश्वर जन्मेको दाबी गर्दै जिल्ला अदालतमा छोराको पितृत्व पहिचानसहित अंशमुद्दा दिएकी थिइन् । अदालतले माग दाबी नपुगेको ठहर गर्दै प्रतिवादी चित्रबहादुरको पक्षमा फैसला सुनाएको थियो ।

अदालतको मिसिलअनुसार चित्रबहादुरले रत्नमायाको श्रीमान् काभ्रे बालुखोपका सुरवीर कामी भएको प्रत्युत्तर लगाएका थिए । सुरवीर आफैँ अदालत उपस्थित भएर रत्नमाया आफ्नो श्रीमती भएको र आफ्नै सम्बन्धबाट छोरा ईश्वरको जन्म भएको बयान दिएका थिए । अदालतले यसैलाई नजिर बनाएर फैसला सुनाएको थियो । त्यतिवेलाको मुद्दा फैसला मिसिलमा सुरवीरले भनेका छन्, 'रत्नमाया मेरी श्रीमती हुन्, दुवैको सम्बन्धबाट ईश्वरको जन्म भएको हो । मसँग अंशदाबी गर्नुपर्नेमा अर्कैसँग गरिएको छ ।' उनले रत्नमाया विधवा भएपछि आफूसँग बिहे भएको पनि बयानमा उल्लेख गरेका थिए ।

विक परिवारले आर्थिक प्रलोभनमा पारेर मुद्दा जित्न सुरवीरलाई अघि सारेको आरोप त्यतिवेलै लगाएका थिए । यो मुद्दा किनारा लागेको दस वर्षपछि छोरा ईश्वरले बाबु-छोराको नाता कायम गराइदिन माग गर्दै १७ कात्तिक ०६५ मा चित्रबहादुरलाई विपक्षी बनाई मुद्दा दिएका हुन् । मुद्दामा उनले आफ्नो नाम ईश्वर घर्तीक्षेत्री उल्लेख गरेका छन् । चित्रबहादुरले ईश्वरको बाबु सुरवीर नै भएको र आफूसित पहिल्यै अंशमुद्दा हारिसकेकाले नाता कायम मुद्दाले अर्थ नराख्ने बयान अदालतसमक्ष दिए । उनको बयान र अघिल्लो फैसलासमेतलाई अध्ययन गरेर डिएनए परीक्षणको आदेश भएको अदालतका नायव सुब्बा हरिबहादुर श्रेष्ठले बताए ।

उनका अनुसार बालबालिकासम्बन्धी ऐन ०४८ को दफा '३' र '१०' लाई आधार बनाई यो निर्णय भएको हो । नाता कायम नहुँदा २२ वर्ष पुगिसक्दा पनि ईश्वरले नागरिकता पाउन सकेका छैनन् । डिएनए परीक्षण गर्न खर्च लाग्ने भएकाले कमजोर आर्थिक अवस्थाका आमाछोरा चिन्तित रहेको अधिवक्ता भेषराम ढकालले बताए ।

श्रोत: नयाँ पत्रिका


« Go Back
Supporters / Sponsors :