दलित समाचार » पत्रकार परियार लोहनी स्मृति पुरस्कारद्वारा सम्मानित
पत्रकार परियार लोहनी स्मृति पुरस्कारद्वारा सम्मानित
Posted: July 18, 2009
काठमाडौं, - कान्तिपुर टेलिभिजनले स्वर्गीय इन्द्र लोहनी स्मृति पुरस्कारको स्थापना गर्दै यसवर्ष उक्त पुरस्कार टेलिभिजनका पत्रकार प्रकाशचन्द्र परियारलाई प्रदान गरेको छ । पुरस्कारमा नगद राशी दश हजार तथा सम्मानपत्र रहेको छ । टेलिभिजनको छैठौं वाषिर्कोत्सवका अवसरमा आयोजित समारोहमा टेलिभिजनका प्रबन्ध निर्देशक गणेश अग्रवालले उक्त पुरस्कारको घोषणा गरे । उनले दर्शकको चाहना अनुसार कान्तिपुर टिभीले निरन्तर नयाँ कार्यक्रमहरु ल्याउने प्रतिवद्धता व्यक्त गरे । विश्व आर्थिक मन्दी तथा मुलुक भित्रको विद्युत संकटका कारण यसअघिको घोषणा अनुसार थप च्यानल ल्याउन नसकिएको बताउँदै उनले यसवर्षभित्र थप च्यानल ल्याउने बताए । कार्यक्रममा कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष तथा टेलिभिजनका निर्देशक कैलाश सिरोहियाले वाषिर्कोत्सवको अवसरमा शुभकामना दिंदै स्वस्थ्य मनोरञ्जनात्मक र समाचारमूलक कार्यक्रम प्रस्तुत गर्दै कान्तिपुर टिभीले अझ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे । विदेशी च्यानलहरुको प्रभाव कम गर्न  कान्तिपुर टिभीले आगामी दिनमा दर्शकको चाहनालाई पूरा गर्दै अघि बढ्नुपर्ने बताए ।

वाषिर्कोत्सवको अवसरमा टेलिभिजनले गरेको केटिभी फुटवल प्रतियोगितामा विजयी भएका कान्तिपुर टिभी ए टिम तथा सहभागी अन्य टिमलाई पनि पुरस्कार प्रदान गरिएको थियो । उक्त अवसरमा टेलिभिजनको विभिन्न विभागमा उत्कृष्ट काम गरेका कर्मचारीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।


« Go Back
Supporters / Sponsors :