दलित समाचार » पानी छुँदा कुट्नेलाई ६ महिना कैद
पानी छुँदा कुट्नेलाई ६ महिना कैद
Posted: July 14, 2009

प्रताप विष्ट
हेटौंडा, पानी छोएको निहुँमा दलितलाई कुटपिट गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले कथित उपल्ला जातिका दुई युवकलाई ६/६ महिना कैद फैसला गरेको छ ।
मनहरि गाविस ७ का ३८ वषर्ीय जितबहादुर सुनारलाई स्थानीय १९ वषर्ीय शिव गिरी र १८ वषर्ीय हिमाल गिरीले कुटपिट गरेकामा जिल्ला न्यायाधीश बालचन्द्र शर्माको इजलासले उक्त सजाय तोकेको हो ।
गत माघ ८ गते घरमा खाना खाइरहेका राजेन्द्र गिरीले खाना अड्किएकाले गाग्रीबाट पानी दिन आग्रह गरेपछि पानी सारेर दिन लाग्दा सुनारलाई गिरीद्वयले पिटेका थिए । पिटाइबाट जितबहादुर घाइते भएका थिए । राजेन्द्रसँगै पीडित सुनार फर्निचरमा काम गर्थे । हिसाबकिताब गर्न उनी राजेन्द्रको घर पुगेका थिए । तल्लो जातिको भएर अर्काको गाग्रीको पानी छुने भनेर गिरीद्वयले पिटेका थिए ।
'यो मेरोमात्र जित होइन, समग्र दलित र उत्पीडित समुदायको जित हो', अदालतको फैसलापछि जितबहादुरले भने । यो मुद्दा केहीले गाउँमै मिलाउन खोजे पनि स्थानीय युवाले प्रहरी हुँदै अदालतसम्म पुर्‍याएका थिए ।
श्रोत: कान्तिपुर दैनिक २०६६ असार ३१


« Go Back
Supporters / Sponsors :