दलित समाचार » सेते दमाईको परिवारलाई पनि १० लाख क्षतिपूर्तिको सिफारिस
सेते दमाईको परिवारलाई पनि १० लाख क्षतिपूर्तिको सिफारिस
Posted: February 8, 2012
Amar Sunar
संविधानसभा/व्यवस्थापिका संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिद्वारा गठित जातीय भेदभाव, छुवाछुत समस्या र समाधानका उपाय अध्ययन गर्न गठित उपसमितिले जातीय कारण हत्या गरिएका दैलेखको तोली गाविस–२ धनीगाउँका सेते दमाईको परिवारलाई सरकारले १० लाख क्षतिपूर्ति दिनु पर्ने सिफारिस गरेको छ ।
जातीय भेदभावको प्रभाव रहेका पूर्वाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल क्षेत्रका जातीय भेदभाव र छुवाछुत समस्या रहेका झण्डै २० वटा जिल्लामा उपसमितिले
गरेको स्थलगत अध्ययनको प्रारम्भिक प्रतिवेदन महिला, बालबालिका तथा समाज कल्याण समितिको हिजोको वैठकमा पेश गर्दै सो सिफारिस गरिएको हो । 
आफ्नै गाउँ छिमेकका भक्तबहादुर शाहीको छोरी राजकुमारी शाहीसंग र सेतेको छोरा सन्तबहादुर दमाईले अन्तरजातीय विवाह गरेकै कारण गत भदौ १३ गते नियोजित रुपमा खुकुरी प्रहार गरी उनको हत्या भएको र जातीयकै कारण ज्यान गुमाएका कालिकोटका मनवीर सुनारको परिवारलाई १० लाख दिने निर्णय भइसकेको सन्दर्भमा सेते दमाईको परिवारलाई पनि क्षतिपूर्ति दिइनु पर्ने उपसमितिका संयोजक सभासद् बिनोद पहाडीले बैठकमा प्रतिवेदन प्रस्तूत गर्दै भन्नु भयो ।
उपसमितिले घटनास्थलमा गई पीडित परिवार, घटना साक्षी, पीडक पक्ष र सेते दमाई हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका ५ कारागारमै गई भेटेर लिइएको विवरणबाट मुख्य योजनाकार बिन्दकला शाहीले ठूलो धनराशी खर्च गरेर आफू उम्कने र आफैले उक्साएर लिएकाहरुलाई दोषी देखाउने प्रयत्न गरेको पाइएको र दोषीलाई उन्मुक्ति पाउन नहुनेप्रति सचेतता अपनाउनु पर्ने पनि जनाइएको छ ।

« Go Back
Supporters / Sponsors :