दलित समाचार » जातिय छुवाछुत र विभेदविरुद्ध संघर्षमा सक्रिय रहन दलित समुदायलाई प्रमको आह्वान
जातिय छुवाछुत र विभेदविरुद्ध संघर्षमा सक्रिय रहन दलित समुदायलाई प्रमको आह्वान
Posted: June 4, 2011
अंभिर प्रसाद वि.क.,
जेठ–२१
जातीय विभेद तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा जातिय छुवाछुत र विभेदविरुद्ध संघर्षमा सक्रिय रहन दलित समुदायलाई प्रधानमन्त्री झलनाथ खनालले आह्वान गर्नुभएको छ ।
आज जेठ २१ गते, नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको ५ वर्ष पूरा भएको छ । सरकारले हरेक वर्षको जेठ २१ गतेलाई जातीय विभेद तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।
जेठ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री झलनाथ खनालले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय गौरवको अनुभूति गराउने यस राष्ट्रिय दिवसलाई व्यवहारतः कार्यान्वयन गर्न सरकारले ठोस नीति र कार्यक्रम संचालन गर्ने उल्लेख गर्नुभएको छ । दिवसको अवसरमा अन्याय र विभेदविरुद्ध संघर्षमा सक्रिय दलित अधिकारकर्मी र समुदायलाई अझ बढी एकताबद्ध हुँदै अघि बढ्न पनि प्रधानमन्त्रीले आह्वान गर्नुभएको छ । जनसङ्ंख्याको एक चौथाई हिस्सा ओगटेका नेपाली दलित समुदायमाथि करिब ३५ सय वर्षदेखि थोपरिदै आएकोे जातीय छुवाछूत तथा भेदभावको अझै अन्त्य हुन नसकेकोमा प्रधानमन्त्री खनालले दुख व्यक्त गर्नुभएको छ ।
व्यवस्थापिका–संसदले ०६८ जेठ १० गतेका दिन जातीय भेदभाव तथा छुवाछूतको कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–०६८ पारित गरेको र राष्ट्रिय दलित अधिकार आयोगको व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढिसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ । जन आन्दोलनपछिको पुनस्थापित संसदले २०६३ साल जेठ २१ गते आजकै दिन नेपाललाई छुवाछुत मुक्त राष्ट्रको रुपमा घोषणा गरेको हो ।


« Go Back
Supporters / Sponsors :