दलित समाचार » लमजुङको पर्यटकीय गाउँ खासुरमा अन्र्तकृया |
||
| लमजुङको पर्यटकीय गाउँ खासुरमा अन्र्तकृया
Posted: June 1, 2011 अंभिर प्रसाद वि.क. लमजुङ,जेठ–१८ जिल्लाको पर्यटकीय गाउँ खासुरमा जातिय विभेद सम्बन्धि एक अन्र्तकृया कार्यक्रम आज संपन्न भएको छ । जातिय विभेदको अन्त्य गरौं, समतामूलक समाजको निर्माण गरौं भन्ने नाराको साथ बाँझाखेत गाविस वडानं १ स्थित खासुरमा स्थानीय दलित समुदाय र गैरदलित समुदायका प्रतिनीधिका विचमा जातियविभेद सम्बन्धि अन्र्तकृया गरिएको हो । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष एवं दलित अधिकारकर्मी किसान ‘संगीत’ नेपालीको प्रमुख आतित्थ्यमा एवं दलित अधिकारकर्मी विवश बुढाथोकीको विशेष आतित्थ्यमा भएको सो कार्यक्रममा स्थानीय दलित समुदाय र गैर दलित समुदायका प्रतिनीधिको सहभागिता रहेको थियो । सो अवसरमा समुदायमा हुदै आएको जातिय विभेद र दुव्र्यवहार, सामाजिक परम्परा र संस्कारका नाममा हुने कुसंस्कारका बारेमा छलफल गरिएको थियो । स्थानीय युवा राजनीतिक नेता, कार्यकर्ता, समाजसेवी देखि बुद्धिजीवि भनेर चिनिएका व्यक्तिबाट पनि विभेद हुने गरेको र जातिय उत्पीडन सहनु परेको दलितसमुदायका सहभागीहरुले बताएका थिए । तालिम, गोष्ठी र अन्र्तकृयाहरुमा एकैठाउँमा बसेर खाने तर मेलापात र गाउँघरमा भने खाजा खाँदा गैरदलित समुदायका व्यक्तिहरु छुट्टै बस्ने गरेको यर्थाथ पनि सहभागीहरुले बताएका थिए । समाजमा परिवर्तनको आवश्यकता भएको र त्यसमापनि पर्यटकीय गाउँ भएकोले खासुरलाई समतामूलक गाउँ बनाउनु पर्नेमा आफुहरु सकारात्मक भएको गैरदलित समुदायका प्रतिनीधिले बताएका थिए । श्रम विभाजनबाट सुरु भएको जातिय परम्पराको गलत अभ्यासका कारण छुवाछुत र विभेदको कुसंस्कारमा पुगेकोले त्यसको विरुद्धमा सचेतना जगाउँदै जानुपर्ने, व्यक्तिगत देखि पारिवारिक र सामुदायिकरुपमा सभ्य बन्दै जानुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । कार्यक्रममा रत्नप्रकाश प्राविका प्रधानाध्यपक होमबहादुर बोहरा, जनआशापूर्ण प्राविका शिक्षक सुर्यप्रसाद गुरुङ, स्थानीय समाजसेवीहरु बुद्धिबहादुर विक, आईतसिं विक, भरत घले, मुनिन्द्रजंग गुरुङ, प्रेम गुरुङ, रुपा घले लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए । जिल्ला विकास समिति र युवा सुचना केन्द्रको सहयोगमा भएको सो कार्यक्रम स्थानीय खासुर प्रगतिशील युवाक्लबको आयोजनामा भएको हो । क्लबका अध्यक्ष हिरालाल विकको अध्यक्षतामा भएको कार्यक्रममा उपेन्द्र परेटले सहजीकरण गर्नुभएको थियो । « Go Back |
Supporters / Sponsors :
