दलित समाचार » बोक्सी आरोपमा खुट्टा चटाइयो
बोक्सी आरोपमा खुट्टा चटाइयो
Posted: April 29, 2011

दुर्गालाल केसी

दाङ, वैशाख १५ - 
हापुर ९ तल्लो टिकरीका तीन दलित महिलालाई बोक्सी आरोपमा गाउँ भेलाले कारबाही गरेको छ । स्थानीय एक परिवारका चार सदस्यलाई बिरामी बनाएको आरोप लगाउँदै ती महिलालाई बिरामीको खुट्टा चाट्न लगाइएको छ । 

कुमारी, गमी र झँक्रिनी विकलाई बुधबार बिरामीका खुट्टा चाट्न लगाई सार्वजनिक रूपमा गाउँबाट एक्ल्याइएको हो । पीडितहरूले बोक्सी आरोपमा दुव्र्यवहार गरेको भन्दै बिहीबार इलाका प्रहरी कार्यालय नारायणपुरमा उजुरी दिएका छन् । स्थानीय विनोद विक, उनकी श्रीमती माया विक र बिक्की विक, उनकी श्रीमती सीतालाई बिरामी बनाएको भन्दै गाउँलेले ती महिलाहरूलाई बोक्सीको आरोप लगाएका हुन् । विक परिवारका सबै सदस्यलाई लामो समयदेखि काप्ने र बर्बराउने समस्या रहेको गाउँलेहरू बताउँछन् । 

'बिरामीकै क्रममा विनोद र बिक्की आफैं तीन महिलाको घरमा गएर बाहिर निकालेका थिए,' स्थानीय मीना बस्नेतले भनिन्, 'बिरामी आफंैले तानेर गाउँ समाजको अगाडि उभ्याएपछि सबै जना चकित परे । अन्त्यमा वडा नं. ६, ८ र ९ का मानिसको भीडले महिलालाई कारबाही गरे, बिरामीको खुट्टा चाट्न लगाए । घटनाबारे प्रहरीलाई जानकारी गराउँदा पनि अााएन ।'

भेलामा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूको समेत सहभागिता रहेको उनले बताइन् । 'सबैजसो दलका नेताहरू थिए तर कोही बोलेनन्,' उनले भनिन्, 'सबैको एकमत भएपछि आरोपित महिलाले माफी मागे ।' यसअघि विनोद र बिक्कीकी आमा मनदेवीको पनि यस्तै समस्याबाट मृत्यु भएको उनले बताइन् । अन्य थप दुई महिलालाई पनि बोक्सी आरोप लगाइएको तर उनीहरू नभेटिएकाले कारबाही हुन नसकेको उजुरीकतर्ा महिलाले बताए । 

उजुरीका आधारमा घटनाबारे अनुसन्धान थालेको र गाउँको समस्यालाई छलफलबाटै मिलाउने प्रयास भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी लक्ष्मण गिरीले बताएका छन् । 'घटना बन्दको दिन भएकाले तत्काल गाडी लिएर जान सकिएन । हाम्रा गाडीहरू स्कर्टिङमा व्यस्त थिए,' उनले भने, 'बिहीबार इलाकामा उजुरी परेपछि गाउँलेहरूबीच छलफलबाटै मिलाउने प्रयास भएको छ ।' आरोपित महिलाले भने बोक्सी भन्नेहरूलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन् ।

घटनास्थल पुगेका इलाका प्रहरी नारायणपुरका प्रमुख प्रहरी नायब निरीक्षक प्रेमबहादुर बोहराले झाँक्रीको भनाइका आधारमा बोक्सी आरोप लगाएको थाहा भएको बताएका छन् । 'झाँक्रीको कुराले आरोप लगाएको थाहा भएको छ,' उनले भने, 'हामी झाँक्रीको पनि खोजी गर्दैछौं । बिरामी र झाँक्रीलाई जुटाएर थप तथ्य पत्ता लगाउने प्रयास भइरहेको छ ।'

श्रोत: कान्तिपुर दैनिक


« Go Back
Supporters / Sponsors :