इटहरी, पुष ७- एक ब्राह्मण युवतीले पुराना दलित प्रेमीलाई सोमबार दिउँसो संवेदनशील अंगमा सियो रोपेर घाइते बनाएकी छन्। नयाँ प्रेमीको सहयोगमा मोरङ, लक्ष्मीमार्गकी सरिता आचार्यले खोटाङ रतन्छाका २६ वर्षीय गंगा विकको संवेदनशील अंगका पाँच ठाउँमा सियो रोपेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
सरिताले मोरङ्कै निरञ्जन ठाकुरको सहयोगमा इटहरीको चौरास्ता चोकबाट नियन्त्रणमा लिई दुई किलोमिटर दक्षिणतर्फको एकान्त स्थानमा लगेर सियोले रोपेको घाइते गंगाले बताए। सियो रोपेपछि एक घन्टासम्म बेहोस भएर प्रहरीको सम्पर्कमा आएका उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
उपचारपछि उनको अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ। मेडिकल अफिसर रविन राईका अनुसार उनको पिसाब गर्न समस्या भएकाले सहज भएपछि डिस्चार्ज गरिनेछ।
‘मिलापत्रको बहानामा दुईजना आएर रिक्सामा हालेर लगे र आक्रमण गरे,’ उनले भने, ‘आक्रमणपछि एक घन्टा बेहोस भएछु, पछि होसमा आएर आफन्त र प्रहरीलाई बोलाएँ।’
दुई वर्षदेखि सरिता र गंगाबीच प्रेम सम्बन्ध थियो। गंगाले सरितालाई एक महिनाअघि लक्ष्मीमार्गबाट खोटाङ भगाएर लगेका थिए। गंगाले सरितालाई खोटाङ् लागेको एक सातापछि निरन्जनले पुनः लिएर आएका थिए।
घटनामा संलग्न दुवैजनाको खोजी गरे पनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ।
