दलित समाचार » विस्थापित अन्तरजातिय बिहे गरेका जोडी गाउँ फर्किए
विस्थापित अन्तरजातिय बिहे गरेका जोडी गाउँ फर्किए
Posted: November 3, 2010
महेन्द्रनगर, १६ कार्तिक
अन्तरजातिय बैवाहिक बन्धनमा बाधिए लगत्तै गाउँमा बस्ने वातावरण नभर विस्थापित हुन पुगेका एक दम्पति घर फर्किएका छन । एकवर्ष  अघि अन्तरजातिय बिहे गरेर बैवाहिक बन्धनमा बाधिए लगत्तै गाउँ घरमा बस्ने वातावरण नभए संघसस्थाको पहलमा काठमाण्डौ पुगेका विमल र सुनिता दम्पति आफ्नो घर फर्किएका हुन । ल्यान काउ नेपाल नामक संस्थाको पहलमा विमल र सुनिता आफ्नो ३ महिनाको नाबालक छोरा सहित आफ्नो घर बेल्डाडी फर्किएका हुन । एकवर्ष  अघि कार्तिक १६ गतेका दिन भागेर कञ्चनपुरको वेल्डाडी गाविस ७ का विमल आउजी र सोहि गाविस ९ बस्ने सुनिता शाहीले अन्तरजातिय विवाह गरेका हुन । विवाह गरे लगत्तै सुनिताका माइती पक्षले आफुहरुलाई छुट्याउनका लागी मार्ने सम्म योजना बनाएको विमलले बताउनुभयो । भागेर भारतको मुम्बइ हुदै उनीहरु फेरि नेपाल फर्केर विभिन्न सस्थाहरुको सहयोगमा राजधानी पुगेका थिए । राजधानीमा उपेक्षित उत्पीडित दलित विकास उत्थान समितिले विमललाई सानो जागिर दिएपछि उनीहरुले आफ्नो घर खर्च चलाउँदै आएका थिए । अहिले फेरि गाउँ फर्किएका छौं सुनिताले भन्नुभयो- अझैपनि मेरो माइती पक्षले आफुहरुलाई बाहिर बाहिर मार्ने धम्की दिइरहेका छन । तर आफुहरु अब हार मानेर नबस्ने संर्घष गरेर जाने उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयबाट बैवाहिक प्रमाणपत्र पाएको भएपनि अझै अन्तरजातिय बिहे गरेका जोडिलाई प्रोत्साहन स्वरुप दिइने रकम आफुहरुले नपाएको उनीहरुको गुनासो छ । गाउँमा रहेको प्रहरी चौकीले बहुविवाह गरेको भनी मुचुल्का बनाइदिएका कारण आफुहरु रकम पाउनबाट वञ्चित भएको उनीहरुको आरोप छ । तर जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत केशवदत्त जोशीले भने प्रहरीले मुचुल्का गलत नबनाएको बताउनुभयो । उहाँले सुनिता पहिलो पटक भागेर गएको केहि समयपछि माइतीले नियन्त्रणमा लिएर अन्य व्यक्तिसंग बिवाह गरिदिएकाले बहुविवाह भएको मुचुल्का बनेको बताउनुभयो । जातिय विभेदका विरुद्व काम गर्दै आएको ल्यान काउ नेपाल नामक संस्थाले कञ्चनपुरको वेल्डाडी गाविस चवन्नी बजारमा जातिय विभेद तथा छुवाछुत अपराध निगरानी समितिको शाखा स्थापना गरेर उनीहरुलाई घर फर्किने वातावरण बनाएको हो । सोमबार नै शुरु गरिएको समितिमा सुनितालाई रोजगारी समेत दिइएको छ । समितिको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशवदत्त जोशी सहित सञ्चारकर्मी सहभागी टोलीले उद्घाटन गरेको हो ।
श्रोत: दिनेश एफ एम, कैलाली

« Go Back
Supporters / Sponsors :