दलित समाचार » छुवाछुत गर्नेलाई राजनीतिक संरक्षण
छुवाछुत गर्नेलाई राजनीतिक संरक्षण
Posted: November 3, 2010
बरुण पनेरु
डडेल्धुरा, कात्तिक १६
गत वर्ष महेन्द्र नमुना उच्चका पियन महावीर सार्कीलाई जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय डडेल्धुराका कर्मचारी डिगम्बर मिश्रले सार्वजनिक स्थलमै छुवाछुतको भेदभाव गरे।
  कार्यालय नजिकै चिया पसल समेत संचालन गरिरहेका मिश्रले चिया पिउन त्यहाँ गएका सार्कीलाई दलितले चिया पिएपछि गिलास आफैले धुनुपर्ने र चिया पसलभित्र पस्न नपाउने भन्दैं दुर्ब्यवहार गरेकोविरुद्धमा परेको मुद्दा हाल न्यायालयमा विचाराधीन छ।

डडेल्धुरा सदरमुकाममै सचेत नागरिकका रुपमा रहेका मिश्रले गरेको छुवाछुतको घटना मात्रै हैन, जातीय छुवाछुतका सवालमा निकै कर रहेको सुदूरपश्चिमेली समाजमा दिनहुँ छुवाछुत र जातीय विभेदका घटनाहरु बढ्दै गएका छन्।

गैरसरकारी संस्थाहरुमार्फत् सामाजिक परिवर्तनका लागि पर्याप्त लगानी हुने गरेको डडेल्धुरामा मात्रै पछिल्लो वर्ष ३२ वटा छुवाछुत र जातीय विभेदका घटनाहरु सार्वजनिक भएका छन्।

ग्रामीण क्षेत्रमा दिनहुँजसो जस्ता घटनाहरु भइराख्ने भए पनि निकै कम घटनाहरु मात्रै सार्वजनिक हुने गरेको छुवाछुत निगरानी केन्द्र डडेल्धुराले जनाएको छ। 'घटनाका पीडित मध्ये केही ब्यक्तिहरु मात्रै न्याय खोज्न विभिन्न निकायमा पुग्छन्।' छुवाछुत निगरानी केन्द्र डडेल्धुराका अध्यक्ष भरत नेपालीले भने, 'सार्वजनिक स्थलमै उपल्लो जाति भनाउँदाहरुबाट दलितमाथि दुर्ब्यवहार हुने भए पनि अधिकांश पीडितहरु सहेर बस्ने गर्छन्।'


ग्रामिण क्षेत्रमा सार्वजनिक पँधेरोमा पानी भरेको आरोपमा कुटपिट हुने र मठमन्दिरमा प्रवेशमा रोक लगाउने घटनाहरु दिनहुँ जसो सार्वजनिक हुन्छन्। तर घटनाका पीडित न्याय खोज्न सक्दैनन्।

गत वैशाखमा अमरगढी-३ वीरबहादुर सार्कीलाई गैरदलित पधेरोमा पानी भरेको आरोपमा कुटपिट भयो। छुवाछुत गरेको आरोपमा स्थानीय प्रहरीमा उजुरी गर्दा प्रहरीको दबाबका कारण गाउँमै मिल्न लगाइयो।

'धेरै मुद्धाहरु प्रहरीको दबाबमा मिलाइन्छ', छुवाछुत निगरानी केन्द्रं डडेल्धुरा अध्यक्ष नेपालीले भने, 'गाउँका अगुवा र सरकारी निकायबाटै गाउँमै मुद्दा मिलाउन लगाइन्छ।
जातीय विभेद उन्मूलन भएको राष्ट्र भइसक्दा पनि सुदूरपश्चिममा छुवाछुतका घटनाहरु घटेका छैनन्।


एक वर्ष अगाडि डडेल्धुरामा स्थापना भएको छुवाछुत निगरानी केन्द्रले करिब एक दर्जन छुवाछुतका मुद्दा सहजीकरण गरिसकेको छ। डडेल्धुरामा सार्वजनिक भएका अधिकांश घटनाहरु नगरपालिका क्षेत्रका मात्रै छन्। जातीय विभेद उन्मूलनका लागि वकिलको राष्ट्रिय अभियान (ल्यानकाउ)ले निगरानी केन्द्र स्थापना गरेका हुन्।

गत वर्ष जेठमा माओवादी इलाका इन्चार्जले आँगनमा प्रवेश र घरमा पानी छोएको आरोपमा भद्रपुर देव ओडलाई दिसा खुवाएको घटना मात्रै गाउँबाट सार्वजनिक भयो। राजनीतिक संरक्षणका कारण दोषीमाथि हाल कुनै कारवाही भएको छैन।

डोटीमा छुवाछुतका एक दर्जन घटनाहरु भएपनि छुवाछुत र जातीय विभेदका तीन वटा मुद्दाहरु न्यायलयमा पुगिसकेका छन्। 'छुवाछुतको क्षेत्रमा काम गर्न धेरै गाह्रो छ।'

छुवाछुत केन्द्रका डोटीका संयोजक कुमार टेलरले भने, 'दलितहरु सामाजिक रुपमा घटनाहरु मिलाउन बाध्य हुन्छ।'

छुवाछुतका अधिकांश घटनाहरुमा राजनीतिक दलको निर्देशनमा समेत गाउँमै मिलाइन्छ। 'कारवाहीको प्रक्रिया अगाडि बढाएपनि दलको संरक्षण हुने गरेको छ।' छुवाछुतविरुद्ध काम गर्दै आइरहेको स्थानीय संस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डडेल्धुराका सचिव सुन्दर जैरुले भने, 'जबजस्ती मुद्धाहरु मिलाइन्छ।'
गत वर्ष मात्रै कुवामा पानी भरेकामा कुटपिटका ८ घटना भएको निगरानी केन्द्रका अध्यक्ष नेपालीले बताए। विभेद गर्ने, गाली गर्ने, छुवाछुत गर्ने, अपशब्द प्रयोग गर्ने, दलित भनी कुटपिट गर्ने जस्ता काम बढी हुने गरेका छन्। 'गाउँमा पानी वितरण, विद्युत वितरण जस्ता कामहरुमा पनि दलितहरुलाई विभेद गर्ने गरिएको छ।
श्रोत: http://nagariknews.com

« Go Back
Supporters / Sponsors :