दलित समाचार » दलित परिवारको दसैं ओडारमै
दलित परिवारको दसैं ओडारमै
Posted: October 6, 2010
अर्जुन शाह
बाजुरा, आश्विन १९ -
गाउँ बजारका बासिन्दा दसैंको चहलपहलमा जुट्न थालेका छन् । विगत १५ वर्षदेखि ओडारमा बस्दै आएका साप्पाटाका एक दलित परिवारलाई चाडबाडको रौनकले कुनै हौसला ल्याएको छैन ।

सदरमुकाम मार्तडीदेखि दुई दिन पैदल विकट साप्पाटा ९ मुक्तिकोटका रैभाने विकको परिवार १४ वर्षदेखि ओडारमा बस्दै आएको छ । एक छोरी र एक छोरा गरी तीन जनाको आफ्नै घरजग्गा केही छैन । उनको परिवारलाई कुनै चाडबाडले कहिल्यै खुसियाली ल्याउन सकेको छैन । उनले भने, 'पेटभरि खान पाएको दिन हाम्रा लागि सधैं दसैं हुन्छ ।'

फलामे भाँडामा धार लगाउने काम गरेबापत गाउँलेबाट पाउने मानापाथी नै उनीहरूको आम्दानीको स्रोत हो । यो परिवार वर्षौंदेखि यही कामबाट पालिँदै आएको स्थानीय मनबहादुर रोकायाले बताए । मुक्तिकोटमा १५ वर्षअघिसम्म उनको एउटा सानो घर थियो । सम्पत्तिको नाममा रहेको सानो घरजग्गासमेत बाढीपहिराले बगाएपछि उनी बिचल्लीमा परेको स्थानीय विरही लोहारले बताए । त्यसै बेलादेखि रैभाने परिवार बान्जडा वन छेउको 'सिगाउँरे ओडार' नामको ढुंगाको ओतमुनि गुजारा गर्दै आएका छन् ।

१० वर्षअघि उनकी श्रीमतीको मृत्यु भएको थियो । यसपछि नाबालक छोराछोरी पाल्ने जिम्मा उनकै काँधमा थोपरिएको छ । १५ वषर्ीया छोरी अपांग छिन् । छोरा सुरबहादुर १३ वर्षको पुग्यो । यी भाइबहिनीले अक्षरसमेत चिनेका छैनन् । छोराछोरीलाई पढाउने, लेखाउनेबारे कहिल्यै सोच्न नभ्याएको उनले बताए । 'छाक गुजारा गरेर उनीहरूलाई पाल्नकै चिन्ता भयो, स्कुल पठाउने त टाढाको कुरा,' उनले भने ।

उमेरले ५० ननाघेका अनुमान गर्दै आफूले अहिलेसम्म नागरिकतासमेत नबनाएको बताए । रैभाने भन्छन्, 'सम्पत्ति नहुनेले नागरिकता बनाएर पो के गर्नु ?' अघिल्लो दसैंमा एचआरसी नामक एक संस्थाले उनको परिवारलाई एक/एक जोर कपडा दिएको थियो । त्यो कपडा पाएपछि आफ्नो परिवारले ८ वर्षपछि लुगा बदल्न पाएको बताउँदै त्यतिबेलामात्र चाडबाडको महसुस भएको उनले बताए ।

अहिले रैभानेलाई छोरा सुरबहादुरलाई भारतमा मजदुरी गर्न पठाउने एउटै धोको छ । 'छोराले भारतमा गएर पैसा आर्जन सकेपछि मेरा सुखका दिन र्फकने थिए कि,' उनले भविष्यको गहु्रँगो योजना सुनाए ।
Source: Kantipur Daily

« Go Back
Supporters / Sponsors :