दलित समाचार » नयाँ संविधान निर्माणमा जुट्न दलित सभासद तथा अधिकारकर्मीको आग्रह
नयाँ संविधान निर्माणमा जुट्न दलित सभासद तथा अधिकारकर्मीको आग्रह
Posted: October 4, 2010
राजु पासवान
काठमाडौं । असोज १६ गते
विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने दलित संविधानसभा सदस्य तथा अधिकारकर्मीहरुले नयाँ संविधान निर्माणमा जुट्न राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् । नेपाल, भारत दलित मैत्री सङ्घ र भारतीय समाज विकास एकेडेमीको संयुक्त आयोजनामा ०६७ असोज १६ गते काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुले सो आग्रह गरेका हुन् ।
कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सर्वदेवप्रसाद ओझाले नेपाल र भारतका दलितबीच सुमधुर सम्बन्ध रहनुपर्नेमा जोड दिँदै दलितका सबाललाई अब बन्ने नयाँ संविधानमा सुनिश्चित गर्नु आजको आवश्यकता रहेको बताए । दलितको अधिकारलाई सुनिश्चित गरेर मात्र नहुने उल्लेख गर्दै ती अधिकारलाई कार्यान्वयन गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।
भौतिक योजना तथा निर्माण सहायक मन्त्री कलावती पासवानले मधेसी दलितलाई राज्यले सयौं वर्षदेखि पछाडि पारिएकाले अब बन्ने नयाँ संविधानमा उनीहरुको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् । राज्यले मधेसीलाई नागरिकता वितरणमा विभेद गर्दै आएको उल्लेख गर्दै राज्यले नागरिकताको आधारमा मतदाता नमावाली सङ्कलन गरिरहेकोमा आपति प्रकट गर्दै त्यो मधेसीलाई स्वीकार्य नहुने उनले बताइन् ।
नेपाल भारत दलित मैत्री सङ्घका प्रमुख सल्लाहकार तथा संविधानसभा सदस्य रामप्रित पासवानले राजनीतिक दलबीच देखिएको असमझदारीका कारण शान्ति र संविधान निर्माण कार्य अगाडि बढ्न नसकेको उल्लेख गर्दै तत्काल सहमति गरी नयाँ संविधान निर्माण गर्न राजनीतिक दलका नेताहरुबीच सहमति आवश्यक रहेको बताए । सविधानसभा अर्न्तर्गत रहेको विभिन्न समितिका संंविधानसभा सदस्यहरु दलित, जनजाति, मधेसी, महिला, अपाङ्ग लगायतका अधिकार नयाँ संविधानमा उल्लेख गर्नुपर्नेमा सकारात्मक रहेको उनले जानकारी दिए ।
कार्यक्रममा सहायकमन्त्री कलावती पासवान, संविधानसभा सदस्य रामप्रित पासवान, कविता सरदार, रामरति राम, रमनी राम, लक्ष्मी परियार, सम्भुहजरा पासवान, दलित अधिकारकर्मी दुःखी पासवान, दुर्गानन्द सदा, राष्ट्रिय दलित अयोगका पूर्व सदस्य पद्मसिंह विश्वकर्मा तथा भारतीय अधिकारकर्मीहरुलाई दलित अधिकारको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ग्लोबल फेन्डसिप गुनीजान मिशन अवार्ड २०१० प्रदान गर्दै सम्मान गरिएको छ ।


« Go Back
Supporters / Sponsors :