दलित समाचार » वादी समुदायको दिनचर्या कष्टकर
वादी समुदायको दिनचर्या कष्टकर
Posted: September 26, 2010

जाजरकोट, ९ असोज

खोलाकिनारामा रहेको झुपडीभित्र उज्यालो छिर्नासाथ कल्पना वादीको दिनचर्या सुरु हुन्छ । उनी हातमा तागो र अल्लोको धागो लिएर जाल बुन्न थाल्छिन् । उनले बुनेका जाल बोकेर श्रीमान् रविलाल नलगाडतिर ओर्लन्छन् ।

श्रीमान्ले माछा मार्ने र श्रमतीले जाल बुन्नेे पेसाबाटै गुजारा चलेको छ उनीहरूको ।

खगेनकोट गाविसको दल्ली गाउँनजिकैको नलसिंह नदीकिनारामा झन्डै दुई दर्जन झुपडी छन् । २२ वटा झुपडी रहेको यो सिंगो बस्तीमा वादी समुदायको बसोबास छ । यो समुदायका महिलाले जाल बुन्ने तथा पासा बनाउने र बालबालिका तथा पुरुषले खोलामा गएर माछा मार्ने काम गरेर जीवन धान्दै आएका छन् । वर्षौँदेखि यो समुदायको जीवन निर्वाहको आधार नै माछा मार्ने पेसा बनेको छ ।

यो बस्तीमा रहेका सबै झुपडी खरले छाएका छन् । सबै झुपडीमा पानी चुहिनाले भित्र रहेका सामान निथु्रक्क भिजेका हुन्छन् । बाहिर पानी पर्न थालेपछि झुपडीमा आगो सल्काउनसमेत धौ-धौ पर्ने मैसरी वादीले गुनासो गरिन् । यो बस्तीका वादी समुदायको न त आफ्नो जग्गा जमिन छ, न राम्रो बास । बस्तीमा पिउने पानीको व्यवस्था नहुँदा वषर्ायाममा आकाशेपानी थापेर पिउँछन् भने अरू वेला नलगाडको फोहोर पानी पिउनुपर्ने बाध्यता छ ।

वर्षौंदेखि यो समुदाय नलसिंहगाडको किनारमा बस्दै आए पनि कसैको नाममा एक टुक्रा जमिनसमेत छैन । स्थानीय वीरबहादुर वादीले भने, 'झुपडी हाम्रा हुन् तर जग्गा कसका नाममा छ त्यो हामीलाई नै थाहा छैन ।' प्रत्येक वर्ष वषर्ाको मौसममा यो बस्तीलाई बास, गाँस र कपासको समस्याले पिरोेल्ने गरेको स्थानीय वृद्ध पिप्ले वादीले बताए । 'वषर्ामा नदी बढेर माछा मार्न गाह्रो हुने, माछा नमारे पेट भर्ने समस्या टार्न हैरान हुन्छ,' उनले भने । दलित अधिकार र विकासका नारा लिएर विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले करोडौँ बजेट जाजरकोटमा खर्च गरे पनि वादी समुदायमा पुग्न सकेको छैन । सरकारले आफूहरूलाई जग्गाजमिनको व्यवस्था, पेसाको ग्यारेन्टी र बालबालिकालाई निःशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्ने उनीहरूको माग छ ।

श्रोत: नयाँ पत्रिका दैनिक


« Go Back
Supporters / Sponsors :