दलित समाचार » बाँकेकि दलित महिलालाई अन्तर्राष्ट्रियस्तर पुरस्कार |
||
| बाँकेकि दलित महिलालाई अन्तर्राष्ट्रियस्तर पुरस्कार
Posted: September 26, 2010 जनक नेपाल बेतहनी (बाँके), आश्विन १० - छोटो समयमै राम्रो आर्थिक फड्को मारेर
उदाहरण बनेकी मधेसी दलित महिला कौशिल्या खटिकले अन्तर्राष्ट्रियस्तरको
पुरस्कार पाउने भएकी छन् ।
अन्तर्राष्ट्रिय संस्था हेफर इन्टरनेसनलले उनलाई 'गोल्डेन ट्यालेन्ट अवार्ड' का लागि छनोट गरेको हो । चितवनदेखि पश्चिमका कसैले यसअघि यो पुरस्कार पाएका थिएनन् । एक हजार डलरको यो पुरस्कार कौशिल्यालाई आइतबार भव्य कार्यक्रमबीच नेपालगन्जमा प्रदान गरिने हेफरका संयोजक दुर्गा केसीले बताए । ३५ वर्षीया कौशिल्याले पुरस्कार पाएको थाहा पाएपछि बधाई दिन वरपर गाउँका महिला उनको घरमा झुम्मिएका छन् । सिंगो दलित बस्ती नै रमाएको छ । बेतहनी-९ स्थित अमितपूर्वाकी उनले जनचेतना महिला बचत समूहमार्फत आर्थिक फड्को मारेर पुरस्कार पाएकी हुन् । तीन वर्षअघिसम्म उनका पति रामसाय रिक्सा चलाउँथे । उनी खेती मजदुरी गरेर जीविकोपार्जन गर्थिन् । भएको ६ कठ्ठा जग्गा पनि डुडुवा नालाले काटेपछि उनको परिवार सुकुम्बासीझैं भएको थियो । रामसाय बिहान ३ बजे उठेर १५ किलोमिटर परको नेपालगन्जमा रिक्सा चलाउन जान्थे । साँझमा घर फर्किंदा कौशिल्या चामल पर्खेर बसेकी हुन्थिन् । 'कमाइ नभएको दिन भोकै सुत्नुपर्थ्यो,' उनले भनिन्, 'अहिले भने खान, लगाउन कुनै समस्या छैन । घरखर्च सजिलै चलेको छ । बचत समूहमा संगठित भएपछि उनको दम्पतीले तरकारी खेती सुरु गर्यो । 'पछि बाख्रा र सुँगुर पाल्न थालेपछि जीविकोपार्जन केही सहज हुँदै गयो,' उनले सम्भिmइन् । सामूहिक तरकारी खेती गरेर उत्पादन नेपालगन्ज लैजान थालेपछि कौशिल्याको आम्दानी बढेको हो । आम्दानी बढेपछि उनले २६ हजार ऋण तिरिन् र दुई कठ्ठा जग्गा किनेकी छन् । घरमा राँगा, बाख्रा र सुँगुर पालेकी छन् । गाउँमा सानो किराना पसल खोलेकी छन् । छोरालाई निजी विद्यालय भर्ना गरेकी छन् । दुई छोरी सरकारी विद्यालयमा पढ्छन् । 'छोटो समयमा यति धेरै प्रगति भयो भन्दा धेरैले झट्ट पत्याउँदैनन्,' उनले सुनाइन् । समूहले पनि कौशिल्याले अन्तर्राष्ट्रिय पुरस्कार पाएकामा बैठक बसेरै बधाई दिएको छ । कौशिल्या मात्र हैन, समूहमार्फत गाउँका ४५ परिवारको जीवनस्तरमा सुधार आएको छ । सुरुमा १० जनाबाट समूह सुरु भएको थियो । अधिकांश भूमिहीन उनीहरूले जग्गा भाडामा लिएर तरकारी खेती गरेका हुन् । एक मौसममा ८० हजारभन्दा बढीको तरकारी बेचेपछि उनीहरू सामूहिक खेतीप्रति उत्साहित छन् । 'गाउँमा कसैले पनि जाँडरक्सी खाँदैनन्, जुवातास खेल्दैनन् । पतिपत्नी मिलेर काम गर्छन्,' समूहकी अध्यक्ष रेखा खटिकले भनिन्, 'जाँडरक्सी र जुवातासले दिनहुँ झगडा हुन्थ्यो । स्वास्नीमान्छेले दिनदिनै कुटाइ खानुपथ्र्यो । अचेल गाउँमा शान्ति छ । सबै हाँसीखुसी छन् ।' बहुमुखी सेवा केन्द्रले समूह गठन गर्न र महिला-पुरुष मिलेर जीविकोपार्जनका उपाय निकाल्न तालिम दिएको थियो । सुरुमा बैठक र तालिममा जाने महिलालाई पुरुषले गाली गर्थे । तर अचेल महिला बैठकमा गए पुरुषले खाना पकाएर बस्ने गरेको अध्यक्ष खटिकले बताइन् । 'खेतको काम गर्दा होस् वा भान्साको, लोग्नेले स्वास्नीलाई सघाउन थालेका छन्,' उनले भनिन्, 'त्यसैले घर-घरमा खुसी छ ।' श्रोत: http://www.ekantipur.com/ तस्विरः जनक नेपाल « Go Back |
Supporters / Sponsors :
