दलित समाचार » कोही कतै यस्तो पनि हुन्छ
कोही कतै यस्तो पनि हुन्छ
Posted: September 26, 2010
पानीटयाङ्की मोरङ, ८ असोज, कथित सानो जातसँग बिहे गरेको भनेर केटीका आफन्तले खोसेर लगेकी श्रीमती अढाई महिनापछि आफै आएपछि खुसी भएका गाउँलेहरुले वैण्डबाजा बजाएर बेहुला बेहुलीलाई चौक बजार परिक्रमा गराई बिहे गराएका छन् ।

मोरङको टङ्की सिनवारी १ गंगा चौक बस्ने २३ वर्षका गङ्गा ऋषिदेवले सुनसरी अमडुवा ३ बस्ने तिलक पोख्ररेलकी २२ वर्षीया छोरी सरस्वती पोख्रेलसँग गत जेठमा मोरङ जिल्ला अदालतमा नाता प्रमाणित गरी बिहे गरेका थिए ।

तर उनीहरुको विवाहलाई केटी पक्षले पचाउन नसकेपछि प्रहरी लगाएर घरैबाट गङ्गाका बाबु र काकीलाई समेत कुटपिट गर्दै जेठ दोस्रो साता सरस्वतीलाई छुटाएर लगेका थिए । पहिले मन्दिरमा बिहे गरेर एक महिना सँगै बसिसकेको र पछि अदालतबाट राजीखुसी नाता प्रमाणित गरी कानुनी बिहे गरेको भए पनि सँगै बसिरहेका उनीहरुलाई केटी पक्षले पहुँचको बलमा प्रहरी लगाएर छुटाएको थियो ।

केटी पक्षले प्रहरीको बलमा केटी खोसेर आफन्तलाई जिम्मा लगाउने बहानामा सरस्वतीलाई भारतको कालिम्पोङतिर लुकाएर राखेका थिए । तर आफन्तले छुटाएको भए पनि सरस्वती आफनो श्रीमान्लाई सम्झेर एकहप्ता अघि भागेर आएकी हुन् ।

केटी पक्षले सरसस्वतीलाई करकापमा गङ्गाबाट छुटाएपछि अदालतमा जवरजस्ती बिहे गर्न बाध्य बनाएको भन्दै छोडपत्रका लागि निवेदन पनि हाल्न लगाएका थिए । यता आफ्नी श्रीमतीलाई प्रहरीले नै छुटाएर लगेपछि व्याकुल बनेका गङ्गाले आफूले राजीखुसी बिह गरेकोले छोडपत्र नगर्ने भन्दै अपिल गरेका थिए ।

फेरि पनि सरस्वतीलाई खोसेर लान नदिन र साँचो प्रेमको जीत भएको भन्दै अविरजात्रा सहित बिहीबार गाउँलेले बेहुला र बेहुली बनाई वेण्डबाजा बजाएर चौक गाउँ परिक्रममा गराएको स्थानीय दलित अगुवा वुद्धि पासवानले बताए । – रासस


« Go Back
Supporters / Sponsors :