दलित समाचार » दलित, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यलाई बधाई तथा शुभकामना |
||
| दलित, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यलाई बधाई तथा शुभकामना
Posted: September 16, 2010 काठमाडौँ। नेपाली काँग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले १२ औँ महाधिवेशनबाट पार्टीलाई संस्थागत गरी निष्ठा र साझा पार्टीकारुपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल दलित सङ्घले आयोजना गरेको ‘दलित महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यलाई बधाई तथा शुभकामना’ कार्यक्रममा उहाँले पार्टीलाई तल्लो तहका कार्यकर्ताको भावनाअनुरुप सञ्चालन गर्न पनि आफू तयार भएको बताउनुभयो । उहाँले नेपाली काँग्रेसले सत्ताका लागि नभएर शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुङ्गोमा पुर्याउन प्रधानमन्त्रीको उम्मेदवारी दिएको स्मरण गर्दै वर्तमान राजनीतिक अवस्थालाई चिर्नका लागि राजनीतिक दलबीचको सहमतिबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । कार्यवाहक सभापति कोइरालाले भन्नुभयो- ‘नेपाली काँगे्रसको आसन्न १२ औँ महाधिवेशनले दलित, आदिवासी/जनजाति, महिला, मधेसी र अल्पसङ्ख्यकका पक्षमा वकालत गर्न सक्नुपर्छ र उनीहरुको भावनालाई कदर गर्न सक्नुपर्छ ।’ पार्टीका नेता तथा कोषाध्यक्षका प्रत्यासी पद्मनारायण चौधरीले पार्टीको आसन्न १२ औँ महाधिवेशनबाट मुलुकका दलित, आदिवासी/जनजाति, महिला, मधेसी र अल्पसङ्ख्यकका पक्षमा पार्टीलाई उभ्याउन सक्षम हुनेमा जोड दिनुभयो । पार्टीका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले जनचाहनाअनुरूप पार्टीलाई अगाडि बढाउन १२ औँ महाधिवेशन सफल हुनुपर्नेमा जोड दिँदै पार्टीले सबैको भावनालाई आत्मसात् गर्दै अगाडि बढ्नेमा विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय दलित आयोगका अध्यक्ष तथा केन्द्रीय सदस्यका प्रत्यासी विजुलकुमार विश्वकर्माले बिपी कोइरालाले अवलम्बन गर्नुभएको समावेशीको सिद्धान्तलाई आत्मसात् अधिकारविहीन समुदायलाई सशक्त बनाउन महाधिवेशन सफल हुने बताउनुभयो । सङ्घका सभापति तथा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री खड्गबहादुर बस्यालले सदियौँदेखि थिचोमिचोमा परेका दलित, आदिवासी/जनजाति, महिला, मधेसी र अल्पसङ्ख्यकका पक्षमा ठोस् नीति ल्याउनका लागि महाधिवेशनले ठोस पहल गर्ने आशा व्यक्त गर्नुभयो । राष्ट्रिय दलित आयोगका सदस्यसचिव जीवन परियारले विगतमा पार्टीले समावेशीको सिद्धान्त अवलम्बन गर्न नसकेकै कारण कमजोर भएको हो भन्दै महाधिवेशनले दलितलगायतको अधिकार सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मुलुकभरिबाट १२ औँ महाधिवेशनमा प्रतिनिधित्व गर्ने झन्डै १०० जना दलित महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूको सहभागिता थियो । यसपटक २५९ जना दलितले महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यका रुपमा प्रतिनिधित्व गर्दै हुनुहुन्छ । « Go Back |
Supporters / Sponsors :
