दलित समाचार » १३ वर्षीया दलित बालिकाले बच्चा जन्माईन, केटा फरार
१३ वर्षीया दलित बालिकाले बच्चा जन्माईन, केटा फरार
Posted: September 6, 2010
गुल्मी/ दलित युवतीलाई बुहारीको रूपमा स्वीकार गर्नुपर्ने दबाब बढ्दै गएपछि यहाँको एक परिवार घर नै छोडेर फरार भएको छ । अर्न्तजातीय विवाहको आशामा गरेको यौन सम्पर्कपछि रहेको गर्भबाट बालिकाले भने शनिवार जिल्ला अस्पतालमा बच्चा जन्माएकी छन् ।
धुर्कोट बस्तु गाविस-३ का टामलाल पाण्डेको परिवार गाउँकै दलित युवतीलाई बुहारीको रूपमा स्वीकार गर्नु पर्ने भएपछि शुक्रवार देखि फरार भएको हो । अर्न्तजातीय विवाहको प्रलोभन देखाई पाण्डेका १८ वर्षीय छोरा रामचन्द्रले गाउँकै युवतीसंग गत मंसिर देखि यौन सम्पर्क गर्दै आएका थिए । बालिका सुत्केरी हुने दिनसम्ममा १३ वर्ष ७ महिनाकी भएकी छन् ।
आमा सुमित्रा नेपालीका अनुसार युवती गत मंसिरमा पहिलोपटक रजस्वला भएकी थिइन । त्यसपछि उनी रजस्वला नभएकाले गर्भ मंसिर महिना कै भएको अनुमान अस्पतालले गरेको छ । युवतीले माघ महिनामा गर्भ रहेको बताउँदै आएकी थिईन । प्रसव पीडाले च्यापेपछि शनिवार अस्पताल भर्ना गरिएकी उनले अस्पतालमै छोरी जन्माएकी हुन् । बच्चाको स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ ।
विवाह गर्छु सुनेपछि मंसिरमा पहिलो पटक यौन सम्पर्क भएको र त्यसपछि माघमा भएको युवतीले बताईन । यौनसम्पर्कबाट गर्भ रहन्छ भन्ने समेत जानकारी नभएकी युवतीले पेटमा बच्चा चल्न थालेपछि संगै पढ्ने साथीहरूसंग आफ्नो पेटमा के चल्ने गरेको बताएकी थिइन । साथीहरूले स्कुलकै शिक्षिकासंग कुरा गरेपछि मात्र बालिकाको पेटमा गर्भ रहेको शंका भएको थियो । ‘स्कुलका मेडमहरूले भनेपछि मात्र मलाई पनि थाहा भएको हो ।’, आमा सुमित्राले भनिन् ।
जेठमा अर्घाखाँचीको सन्धिखर्क पुगेर परिक्षण गर्दा गर्भ रहेको जानकारी भएपछि केटाका परिवारले गर्भपतको प्रयास गरेको आमा सुमित्राले बताईन । ‘२०/२५ हजार दिन्छौं भनेका थिए ।’, सुमित्राले भनिन्, ‘नमानेपछि केटा जेठ देखि नै फरार भएको हो ।’ युवक फरार हुनासाथ उनीहरूले जिल्ला प्रशासनमा न्याय माग्दै उजुरी दिएको दलित महिला संघकी अध्यक्ष कमला बरालले बताईन । ‘तर पनि गाउँमै मिलाउने पहल भएकाले प्रशासनमा दवाव गरेनौं ।’, बरालले भनिन् ‘साउन २७ गतेबाट प्रशासनमा दवाव दिंदादिंदै परिवार नै फरार भए ।’
जिल्ला प्रशासनले युवकका बाबु टामलाल पाण्डेलाई दुई साता अघि झिकाएको थियो । बाबुले छोरा लिएर आइतवार आउने प्रतिबद्धता जनाएपछि तारेखमा छोडिएको थियो । आइतवार नआएपछि प्रहरी लगाएर ल्याउन लागेका बेला परिवार नै शुक्रवार देखि फरार भएका हुन् । पाण्डे परिवारले घरमा रेखदेखका लागि युवकका मामा पोमलाल भण्डारी र मामा घरकै हजुरआमालाई जिम्मा दिएको छ । आफुहरूलाई घर र गाईभैसी हेरिदिनु हामी केही दिनमा आउँछौं भनेर दिदि भिनाजु हिडेको भएपनि कहाँ गएको भन्ने जानकारी आफुलाई नभएको पोमलालले बताएका छन् ।
उत्पीडित समुदाय उत्थान केन्द्रका अध्यक्ष गणेश विश्वकर्माले युवक परिवारले सहज रूपमै जिम्मा नलिएमा दलित अधिकारकर्मी र मानवअधिकारबादीलाई रोहबरमा राखेर प्रशासनको पहलमा पाण्डेकै घरमा बालिका र बच्चालाई भित्र्याईदिने बताए ।
बालिका र युवक दुवै स्थानीय पाञ्चायन उच्च माविका कक्षा ६ र ९ का विद्यार्थी हुन् । अस्पतालमै बच्चा जन्माएकी बिपन्न परिवारकी बालिकालाई प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको पहलमा महिला विकास कार्यालयले आर्थिक सहयोग गर्ने भएको छ ।
« Go Back
Supporters / Sponsors :