दलित समाचार » दलित बस्ती दर्ता गर्ने तरखर |
||
| दलित बस्ती दर्ता गर्ने तरखर
Posted: September 3, 2010 गाईघाट -उदयपुर भूमाफियाले बेल्टार ५ सातधारेस्थित दलित बस्तीको करिब ७ बिघा जग्गा दर्ता प्रक्रिया अगाडि बढाएका छन् । करिब १२ परिवार दलितसहित झन्डै २५ घरले वर्षौंदेखि भोगचलन गरिरहेको जग्गा मालपोत कर्मचारीसहितको मिलेमतोमा भूमाफिया समूहले दर्ता गर्न लागेको हो । सर्भे नापीको समयमा तत्कालीन सुन्दरपुर गाविस ८ को कित्ता नं. ६३ को ५ बिघा ४ कठ्ठा ८ धुर र कित्ता नं. ३६ को १ बिघा १५ कठ्ठा ५ धुर जमिन हडियाका बुधन चौधरीले दर्ता प्रक्रिया सुरु गरेको जिल्ला मालपोतले जनाएको छ । नापीका बेला बाबुबाजेको नाममा वन बुटेन र कैफियतमा 'यो जग्गा ऐलानी हो' लेखिएको जग्गा चौधरीले दर्ता गराउन खोजेको स्थानीयले बताए । वषौर्ंदेखि २५ परिवार बसोबास गर्दै आएको जग्गा चौधरीले आफ्ना बाबुबाजेको भन्दै दर्ता गर्न खोजेको स्थानीय केशव तिमिल्सिनाले जनाए । उनले भने, 'भूमाफिया सक्रियतामा जग्गा दर्ता गर्न लागिएको हो ।' दर्ता प्रक्रियामा मालपोतका पूर्व र बहालवाला कर्मचारीको हात रहेको उनले बताए । यहाँ ०२९ देखि नै सर्वसाधारण बस्दै आएको बेल्टार गाविसको स्रेस्ताले देखाएको छ । ०२९ देखि नै तत्कालीन गाउँ पञ्चायतले कर लिएर जग्गा भोगचलन गर्न दिएको स्थानीय फूलकुमारी विश्वकर्माले बताइन् । उनले भनिन्, 'अरू कतै बसोबास गर्ने ठाउँ नहुँदा तत्कालीन पञ्चायतको सिफारिसमा यहीं बसोबास गरेको हो ।' करिब ३८ वर्षपछि चौधरीले आफ्नो दाबी गर्दै दर्ता प्रक्रिया गरेकामा आश्चर्य लागेको उनले बताइन् । बेल्टारमा ०५७ साल आसर १२ गते बसेको सर्वदलीय बैठकले समेत उक्त जग्गा आफूहरूलाई भोगचलन गर्न प्रमाणपत्र दिएको भावना विश्कर्माले बताइन् । गाविसमा भएको सर्वदलीय बैठकले जग्गा भोगचलन गर्न दिई बर्सेनि मालपोतसमेत लिँदै आएको छ, उनले भनिन्, वर्षौंसम्म भोगचल गरेर विधिवत् रूपमा जग्गाको मालपोतसमेत तिरेका छौं ।' तर अहिले आएर चौधरीले आफ्नो भन्दै दाबी गरेपछि अन्योलमा परेको उनले सुनाइन् । चौधरीले रसिलाल र रतिलाल भन्ने भिन्दाभिन्दै दुई व्यक्ति आफ्नै बाबु भएको दाबी गर्दै छुट दर्ताका लागि मालपोतमा दाबी गरेको कार्यालयले जनाएको छ । उनका भाइहरू मिठुलाल र बच्चुलालले भने त्यो जग्गा आफ्नो बाजेपुर्खाको नभएको बताए । उनीहरूले भने, 'दर्ता गर्न लागिएको जमिन हाम्रा बाजेपुर्खाको होइन, यो विशुद्ध ऐलानी हो ।' छुट जग्गा दर्ता गर्न बुधनले निवेदन दिएको मालपोत अधिकृत खड्गबहादुर कार्कीले बताए । उनले भने, 'बुधनले छुट दर्ता गर्न निवेदन दिएका छन् भने त्यहाँ बसोबास गरिरहेकाले पनि जग्गा ऐलानी हो र आफूहरूको बसोबास रहेको भन्दै निवेदन दिएका छन् ।' यसबारे विस्तृत छानबिन गरिने उनले बताए । श्रोत: कान्तिपुर दैनिक भाद्र १६, २०६७ « Go Back |
Supporters / Sponsors :
