दलित समाचार » तीनै छोरा बितेपछि भुलाउने बाटो अर्को छोरा पाउँला
तीनै छोरा बितेपछि भुलाउने बाटो अर्को छोरा पाउँला
Posted: September 2, 2010
तुफान न्यौपाने, जुम्ला, भदौ १७
त्यो दिन गाउँमा जात्रा नभदिएको भए पर्व दमाइले सदरमुकाम मान्म गएर परिवार नियोजन गराइसकेका हुन्थे। जात्रामा बहिनी-ज्वाइँको खातिर गर्नुपरेकाले उनी मान्म जान पाएनन्। जात्राकै राति सोमबार (भदौ १२) पहिरोले तीनतले घर भत्कँदा उनका तीनै छोरा बिते।
जत्ति नै विपत्ति परे पनि भुलाउने बाटो त खोज्नैपर्‍यो! धन्न, परिवार नियोजन नगरेका पर्वले अहिले पत्नी हरिशोभा दमाइलाई भुलाउने बाटो पाएका छन्, 'जे हुनु भैगो, अब चिन्ता नगर, बन्द (परिवार नियोजन) गराएका छैनौं, अर्को छोरा पाउँला।'

कालिकोट भर्ता गाविस- १ साहुवाडाका दमाइ दम्पतीका छोरा रज (१०), अलि (७) र मान (४) पहिरोले घरमै पुरिएका थिए। जात्रा मान्न आएका पर्वकी बहिनी कालिकोट सुकातिया- ७ की नानी दमाइ (३०), ज्वाइँ कासी दमाइ
(३७), छोराछोरी धर्म र काली दमाइ पनि त्यो रातको पहिरोमा पुरिएका थिए।

दिनभरि आँगनमा हाँस्दै-खेल्दै रमाइरहेका तीनै छोरा गुमाएपछि अहिले हरिशोभा बेला-बेला मुर्छित हुन्छिन्। नागरिकसँग टेलिफोनमा बुधबार दिउँसो पर्वले रुँदै भने, 'दैव लाग्यो हजुर, मुटु नै चुँडियो, श्रीमतीलाई त सम्झाउनै पर्‍यो।'

किशोरी उमेरमै पर्वसँग बिहे गरेकी हरिशोभाले १६ वर्षकै उमेरमा जेठो छोरा जन्माएकी थिइन्। दस वर्षभित्र जन्मिएका थिए तीन छोरा। तीन छोरा भएपछि दमाइ दम्पतीलाई अब परिवार नियोजन गरे पनि हुन्छजस्तो लागेको थियो।

दमाइका जेठा छोरा तीन र माइला छोरा एकमा पढ्थे, कान्छा स्कुल जानै थालेका थिएनन्। दुवै पढाइमा तगडा थिए- जेठा त कक्षामा पहिलै हुन्थे। उनीहरू पढ्ने स्कुल जनउत्थान प्रावि चौकीवाडाका शिक्षक रामप्रसाद आचार्य दुवै भाइ जिज्ञासु स्वभावका भएको बताउँछन्।

साहुवाडामै दलित परिवारबाट कोही पनि ठूलो पदमा नपुगेकाले ऋण खोजेरै भए पनि छोरालाई शिक्षक बनाउने दमाइ दम्पतीको सपना थियो। 'छोरालाई मास्टर बनाउँ भन्दै पढाएकी थिएँ,' हरिशोभाले टेलिफोनमा भनिन्, 'सबै बर्बाद भयो।'

छोरालाई कापिकिताव र विद्यालय पोसाक किन्न १४ हजार रुपैयाँ ऋण लागेको उनले बताइन्। गाँउलेको घरमै गएर बालीप्रथामा कपडा सिलाइदिने र वर्षको एकपटक पाइने कोदो, गहुँ र फापर पारिश्रमिकबाट दमाइ परिवारको गुजारा चलेको थियो। त्यही कमाउने आधार लुगा सिउने मेसिन पनि पहिरोले पुर्‍यो।

जग्गा नभएका दमाइ दम्पतीको बस्ने घरै भत्किएपछि उनीहरू अहिले दाइको घरमा बसेका छन्। मंगलबार घटनास्थल पुगेको जिल्ला प्रहरी, जिल्ला प्रशासन र अन्य संघसंस्थाले दमाइ दम्पतीलाई लत्ता कपडा र खाद्यान्न उपलब्ध गराएको छ। प्रशासनले ८० हजार रुपैयाँ राहत उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालले बताए।

Source: Nagarik News



« Go Back
Supporters / Sponsors :