दलित समाचार » दुर्गामन्दिरमा दलित महिला पुजारी
दुर्गामन्दिरमा दलित महिला पुजारी
Posted: August 17, 2010
पर्वत। पर्वतको शिवालय गाविस वडा नम्बर ३ स्थित गोदामको दुर्गामन्दिरमा दलित महिला पुजारीले पूजा गर्दै आएकी छिन् ।
पानी चल्ने जातले मात्र मन्दिरमा पूजा गर्ने परम्परा तोड्दै यहाँकी एक दलित महिलाले सात वर्षदेखि पुजारीको काम गर्दै आएकी हुन् । स्थानीय डल्ली नेपाली मन्दिरमा पूजा गर्ने पहिलो दलित महिला पनि हुन् ।
नेपालीले २०६१ सालदेखि मन्दिरमा बिहान बेलुका नित्य पूजाआजा गर्दै आउनुभएको छ । मन्दिरमा रहेका पुरुष पुजारीको मृत्युपछि यी महिलाले पूजा गर्दै आएको नेपालीले बताउनुभयो । ‘पहिले जेठाबाले पूजा गर्नुहुन्थ्यो, उहाँ स्वर्गे भएपछि मैले थालेकी हुँ,’ उहाँले भन्नुभयो ।
अहिले पूजा गर्न दलित मात्रै आउने गरेको र नेपालीको जुठो सुत्केरो परे विक र परियारले पूजाआजा चलाउने गरेका छन् ।
आफू जीवित भएसम्म यही पूजा गरेर बस्ने विचार छ उहाँको । उमेर ५० वर्ष पुगेकी अविवाहित महिला नेपाली अहिले समाजका लागि उदाहरण बन्नु भएको छ ।
मन्दिर वरपर बस्ने दमाई, कामी र सार्की जातका दलितले मिलेर निर्माण गरेको मन्दिरमा अन्य जाति भने कमै मात्रामा पूजा गर्न आउने गरेका छन् ।
चन्दा, भैलो र स्थानीवासीको श्रमदानबाट निर्माण गरिएको दुर्गामन्दिरमा दलितकै पहलबाट पूजाआजा सञ्चालन गरिएको हो ।
स्थानीय ब्राम्हण समुदायका व्यक्तिले दलितलाई मन्दिरमा प्रवेश गर्न नदिएपछि स्थानीय दलितहरू मिलेर २०५० सालमा सो मन्दिर निर्माण गरिएको थियो । अन्य मन्दिरमा जाँदा पस्न नदिएपछि सबै दलितहरू मिलेर निर्माण गरेको स्थानीयवासी दिलबहादुर परियारले बताउनुभयो ।
सो मन्दिर स्थानीय सहयोग, भैलो र चन्दा सङ्कलन गरेर निर्माण गरिएको हो । ‘नियमित पूजा गर्ने परिवारलाई पहिले तीन सय/पाँच सय र अहिले मासिक रु १ हजार दिने गरेका छौं,’ नेपालीले भन्नुभयो ।
अहिले मन्दिरको नाममा रु दुई लाख ८० हजारभन्दा बढी कोष रहेको र गाउँकै सर्वसाधारणलाई लगानी गरिएको बताउँदै नेपालीले त्यही पैसाको ब्याजबाट पुजारीलगायत अन्य खर्च चलाएका छौं, भन्नुभयो । गीता शर्मा/रासस
« Go Back
Supporters / Sponsors :