दलित समाचार » सर्पको टोकाइबाट एकै दलित परिवारका तीनको मृत्यु
सर्पको टोकाइबाट एकै दलित परिवारका तीनको मृत्यु
Posted: August 11, 2010
नेपालगन्ज, साउन २५- बाँकेको इन्द्रपुर–६ मा मङ्गलबार सर्पको टोकाइबाट एकै घरका तीन जनाको ज्यान गएको छ। सोमबार राति घरमा सुतिरहेका बेला सर्पले टोकेर सिकिस्त भएका इन्द्रपुर–६ का दुखीराम खटिकका एक छोरा र दुई छोरीको भेरी अञ्चल अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको हो ।
राति सर्पले टोकेपछि बिहान अस्पताल पुर्‍याइएकामा उपचार गराउँदा गराउँदै  खटिक दाजु बहिनी १२ वर्षीय राकेश, ९ वर्षीया उषा  र ७ वर्षीया मनिषाको मृत्यु भएको अञ्चल अस्पतालले जनायो। दुखीरामका अनुसार सर्पले टोकेको बिहान  ४ बजेतिर थाहा भएको थियो। सोही गाउँमा एक महिनाअघि पनि सर्पको टोकाइले दुई जनाको मृत्यु भएको स्थानीयले बताए।

फुसको घरमा सुतेका तीन बालबालिकाको मृत्यु  भएपछि परिवारका सदस्य बेहोस अवस्थामा छन्। दुखीराम, पत्‍नी र अर्का एक छोरा सोही घरको अर्को छेउमा सुतेका थिए। केही दिनयता पानी नपरेका कारण गर्मीले खटिक परिवारले ढोकासमेत खुल्लै राख्‍ने गरेको थियो।

« Go Back
Supporters / Sponsors :