दलित समाचार » गैरदलितकी छोरी बिहे गरेको भन्दै ५५ हजार जरिवाना
गैरदलितकी छोरी बिहे गरेको भन्दै ५५ हजार जरिवाना
Posted: August 11, 2010
पानीटयाङकी (मोरङ), श्रावण २५ - दलितले गैरदलितकी छोरीसँग बिहे गरेको आरोपमा सुनसरीको छिटाहा- ५ मा  गाउँलेहरुले एक दलित परिवारलाई ५५ हजार रुपैयाँ जरिवाना तिराएका छन् ।

गाउँमा स्थानीय प्रहरी प्रशासनलाई समेत साथमा लिएर पन्चेती (भेला) राखेर दलित भनिने बद्री राम र उनका बाबु रामप्रसाद रामलाई एक महिनाअघि उपल्लो जातिकी छोरीलाई बिहे गर्ने आँट गरेको भन्दै सोही ठाउँका भोला पालले गाउँलेको सहयोगमा जरिवाना तिराएका हुन् ।

स्थानीय  दलित अधिकारकर्मी तथा दलित मुक्ति मोर्चा कोचिला राज्यसमिति सदस्य बालकुमार मुँदेलले दिएको जानकारीअनुसार रामप्रसाद रामका छोरा १८ वर्षा बद्री रामले सोही ठाउँका भोला पालकी- १६ वर्षीया छोरी सोनु पालसँग प्रेमविवाह गरेका थिए । प्रेमविवाह गरेर अलग्गै बस्दै आएका उनीहरुलाई केटी पक्षले खोजतलास गरी प्रहरीमा बुझाएर गाउँमा झिकाइ कानुनविपरीत बिहे गरेको भन्दै अलग गराएका थिए ।

प्रहरीको सहयोगमा सोनु र बद्रीलाई अलग गराए पनि गाउँको मामला भन्दै चमारका छोराले उपल्ला जातिकी छोरी लगेर गाउँका इज्जत फालेको भन्दै सहयोगमा बाबु भोला पालले गाउँलेहरुको भेला बोलाएर दुस्साहस गरेको भन्दै ५५ हजार रुपैयाँ जरिवाना तिराएका हुन् ।

केटी छुटाएपछि केटा पक्षबाट लिएको ५५ हजार रुपैयाँ जरिवानाबाटै केटीका बाबुले छोरी सोनुको भारतमा बिहे गरिदिएको दलित अधिकारकर्मीले आरोप लगाएका छन् ।

प्रहरीले गाउँको मामला भएकोले गाउँमै मिलाएको हुनसक्ने र आफूहरुलाई त्यसबारे केही जानकारी नभएको बताएको छ । रासस


« Go Back
Supporters / Sponsors :