पर्वत साउन १० । गाउँमै निःशुल्क र गुणस्तरीय अङ्ग्रेजी शिक्षा दिने
उद्देश्यले पर्वतको सुदूर दक्षिणी रानीपानी गाविसमा सन्चालनमा आएको एक
सामुदायिक विद्यालय स्रोतको अभावमा एक वर्षमै बन्द हुने अवस्थामा पुगेको छ
। विद्यालयसँग प्रयाप्त आर्थिक स्रोत नभएकाले विद्यालय बन्द हुने अवस्थामा
पुगेको हो ।
मुलुकमा शान्ति बहालीसँगै रानीपानीमा साचालित सामुदायिक प्राथमिक
विद्यालयमा निजी विद्यालयमा जस्तै अङ्ग्रेजी माध्यममा पढाइ साचालनमा आएको
थियो । गाउँमै गुणस्तरीय रुपमा अङ्ग्रेजी शिक्षाको पठनपाठन हुन थालेपछि
पर्वत जिल्लाका पाँच गाविसका साथै छिमेकी जिल्ला गुल्मी बागलुङ र
स्याङ्जालगायतका विद्यार्थी लाभान्वित भएका छन् ।
द्वन्द्वको समयमा गाउँगाउँमा रहेका निजी बोर्डिङ बन्द भएपछि बालबालिका
पढाउन सदरमुकामलगायतका सहरमा केन्द्रित अभिभावक गाउँमा नै अङ्ग्रेजी
माध्यममा पढाइ हुने विद्यालय खुलेपछि गाउँ फर्केका थिए । सत्तरी
प्रतिशतभन्दा बढी दलित परिवारका विद्यार्थीले अध्ययन गर्ने सो विद्यालयमा
अङ्ग्रेजी माध्यममा कक्षा सन्चालन भएपछि अभिभावकले राहत महसुस गरेका थिए ।
गत शैक्षिकसत्रदेखि सन्चालनमा आएको लोकतन्त्र प्राथमिक विद्यालयमा
गुणस्तरीय शिक्षा प्रदान हुन थालेपछि सहरबजारका बोर्डिङ पढाएका बालबालिका
गाउँमै फर्किएका थिए । कक्षा नस्ररीदेखि पढाइ साचालन भएको सो विद्यालयमा
अहिले एक शिक्षक र तीन शिक्षिका कार्यरत रहेको विद्यालयका संरक्षक हरि
न्यौपानेले बताउनुभयो ।
विद्यालयमा एकमात्र राहत दरबन्दी रहेको र सोही दरबन्दीमा प्राप्त भएको
रकमले चार शिक्षकलाई तलब व्यवस्थापन गरिएको न्यौपानेले बताउनुभयो ।
‘विद्यालय सङ्कटमा परेपछि बन्द गर्नुको विकल्प छैन’ न्यौपानेले बताउनुभयो-
‘शिक्षा कार्यालयले १० जना विद्यार्थी भएको ठाउँमा अनावश्यक दरबन्दी थपेको
छ तर हाम्रोजस्तो विद्यालयमा कुनै चासो देखाएको छैन ।’ सो विद्यालयमा दलित
गरिब पिछडिएका वर्गका ८० भन्दा बढी विद्यार्थीले शिक्षा लिँदै आएका छन् ।
गाउँमा पनि गुणस्तरीय शिक्षा दिई विद्यार्थीको शैक्षिक विकासमा टेवा
पुर् याउने उद्देश्यले साचालित सो विद्यालय विकासका लागि विभिन्न पक्षसँग
सहयोगको अपेक्षा गरिएको संरक्षक न्यौपानेले बताउनुभयो ।
‘अभियानको सुरुवातमात्रै गरिएको हो सबैको सहयोग पाएमा विद्यालयलाई आगामी दिनमा निम्नस्तर तथा दलित बालबालिकाका लागि शिक्षाको केन्द्र बनाउन सकिन्छ’ उहाँले भन्नुभयो- ‘विद्यालयलाई यसक्षेत्रकै उदाहरणीय बनाउन सकिने सोच भए पनि स्रोत जुटाउन नसक्दा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आयो ।’ वद्यालयमा सम्भव भएसम्म आगामी दिनमा गरिब दलित तथा पिछडिएका बालबालिकालाई शिक्षाको अवसर दिने सोचाइ राखिएको उहाँले बताउनुभयो ।
