दलित समाचार » दलित परिवार इनार प्रयोगबाट वञ्चित
दलित परिवार इनार प्रयोगबाट वञ्चित
Posted: June 17, 2010
लहान, अषाढ ३
सिरहाको चन्द्रोदयपुर ४ रुवालेका ४ दलित परिवारलाई त्यहाँका गैरदलितले सार्वजनिक इनार प्रयोगबाट वञ्चित गरेका छन् । गैरदलितले 'पानी छोइन्छ' भन्दै दुई दिनदेखि दलित परिवारलाई पानी भर्न रोक लगाएका हुन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वाबाट करिब ३ किमि उत्तरमा पर्ने चन्द्रोदयपुर ४ रुवाले टोलमा सार्वजनिक इनारमा पानी भर्न गएका उनीहरूलाई गैरदलितले जातीय रूपमा उत्पीडन र अपमानित गर्दै पानी भर्नबाट वञ्चित गरेका हुन् ।
त्यस टोलमा १२ घर मगर, दुई हलुवाई र ४ घर दलित सार्की समुदाय बसोवास गर्छन् । बस्तीको पूर्वदक्षिण कुनाका ४ दलित परिवारमाथि चाहिएको समयमा पानीसमेत भर्न नदिएको पीडितको आरोप छ । समुदायले बस्तीको बीचको सार्वजनिक इनारमा पानी प्रयोग गर्दै आएका थिए । स्थानीय कञ्चन मिझार भन्छिन्, 'मेरा नानीलाई बिहान स्कुल जाने समयमा पानीसमेत भरेर खुवाउन पाइनँ ।' मिझारका अनुसार चार दिनअघि पानी भर्दै गर्दा गाउँका तीजकुमारी रुवालेसहित केही महिलाले 'सानो जात भएर अलि पछि पनि पानी भर्दा हुँदैन' भन्दै गालीगलौज गरेपछि विवाद बढेको थियो । आफ्नो समुदायका केटाकेटी पानी भर्न जाँदा गैरदलितले हप्कीदप्की गरेर फर्काइदिने उनीहरूको गुनासो छ ।  

गैरदलित बस्तीकी महिला स्वास्थ्य स्वयंसेविका पदमकुमारी रूवालेमगरले गाउँमा दलित र गैरदलितले सँगै पानी भर्न नहुने बताइन् । 'उहिल्यैदेखि चलेको परम्परालाई कसरी तोड्ने ? उनले भनिन् । दलित समुदायका केटाकेटी पानी भर्न जाँदा गैरदलितहरूले हप्कीदप्की गरेर फर्काइदिने गरेको पीडितको गुनासो थियो ।

पीडकहरूले पहिला कायम रहेको जस्तै पालो गरी दलित र गैरदलितले पानी भर्नुपर्ने बताउँदै आएका छन्् । उनीहरूले दलित समुदायलाई पानी भर्नबाट वञ्चित नगरेको दाबी गरे । सार्वजनिक इनारमा पानी भर्ने सवालमा विवाद बढेपछि आइतबार भएको द्विपक्षीय छलफलमा पुरानै कुरालाई कायम राख्दै निर्णय गर्न खोजिएपछि दलितहरूले नमान्ने भएका छन् ।
श्रोत: कान्तिपुर दैनिक

« Go Back
Supporters / Sponsors :