दलित समाचार » एकीकृत माओवादी कार्यकर्ताद्वारा दलित युवकलाई 'यातना'
एकीकृत माओवादी कार्यकर्ताद्वारा दलित युवकलाई 'यातना'
Posted: June 10, 2010
डडेल्धुरा । जेठ २६ गते
केशब बोहरा

एकिकृत माओवादीका भद्रपूर गाविस-२ का इन्चार्ज रामदत्त भट्टले सोही गाविसको मटेला बस्ने ३५ वर्षीय देवबहादुर ओडलाई कुटपिट गरी यातना दिएका छन् ।

भट्टले सामान्य विवादपछि जेठ १८ गते राति ९ बजेदेखि १२ बजेसम्म आफू बस्दै आएको घरको गोठमा बाँधेर बन्धक बनाइ कटुपिट गरेको पीडित देवबहादुर ओडले जानकारी दिए । भट्टले सामान्य विवादपछि ओडलाई आफू बस्दै आएको ससुराली घरमा लगी दुई दिन हात बाँधेर गोठमा थुनेर राखेको पीडित ओडले जानकारी बताए । "तल्लो स्तरको गाली गलौज गर्दै मेरो मलद्वारमा लठ्ठीसमेत कोचिदिए," पीडित ओडले भने ।

 बैतडी जिल्लाको कैलपालमाण्डौं गाविस दनखोला घर भई भद्रपूर ससुरालीमा बस्दै आएका माओवादी भद्रपूर गाविस-२ का इन्चार्ज भट्टले ओडलाई यसअघि पनि लामो समयदेखि मानसिक तथा शारीरिक यातना दिएको खुल्न आएको छ ।

"भोलिपल्ट गांउ समाजलाई राख्न खोजेँ तर उसले दिएको धम्कीका कारण कसैले पनि मेरो कुरा सुदिएनन्," ओडले आफूमाथि भएको यातनाका विषयमा जानकारी गराउँदै भने "गाँउ समाजलाई भनेकै कारण देखाएर उनले १९ गतेपनि अघिल्लो दिनमा जस्तै गरी दिउँसो २.३० बजेदेखि ६ः३० बजेसम्म त्यही गोठमा थुनेर राखे ।" थुनेको कुरा परिवारले थाहा पाएपछि छुटाएको र परिवारका सदस्यलाई पनि गाली गलौज गरेको ओडले जानकारी दिए । कुटपिटबाट ओडको कान, हात, मलद्वार र शरीरका अन्य भागहरुमा चोट लागेको छ ।

"सामान्य विवादपछि मलाई जबर्जस्ती आफू बसेको घरमा लगेर हात बाँधेर थुनेฺ" ओडले भने "मलाई गोठमा तीन घण्टासम्म थुनेर तँ जस्ता डुमलाई जे पनि गर्नसक्छु भनी मुखमा पिसाब समेत गरिदिए ।"

"गाँउलेहरु सबैलाई थाहा छ तर उनी धक्याएका हुनाले कोही केही बोलिदिदैनन्," ओडले गुनासो गरे । "मलाई पनि बारम्बार धम्क्याएका कारण कसैलाई भन्न सकिन र उजुरी पनि गरेको छैन ।" आफूलाई यसअघि पनि भट्टले विनाकारण पटकपटक विभिन्न खाले यातना दिँदै आएको ओडले बताए ।

भट्टले आफू मार्न र मर्न नडराउने भन्दै आफूलाई यातना दिने गरेको जानकारी ओडले दिए । उनले भने "म पार्टीको मान्छे हुँ, प्रहरी प्रशासनमा जहाँ जान्छस् तेरो केही लाग्दैन भन्दै मलाई यातना दिए ।"

पीडक भट्टले घटनाका विषयमा कसैले केही बोले जे पनि गरिदिने धम्की दिएको स्रोतले जानकारी दियो । "ओडलाई माओवादी कार्यकर्ताले चरम यातना दिएका छन्" घटनाको केही समयपछि घटनास्थल पुगेका बताउने चिपूर गाविस-८ का स्थानीय बासिन्दा किशोर विष्टले भने । गाउँमा बुझ्दाखेरी ओडलाई तेस्रो व्यक्तिसँगको विवादका कारण अनाहकमा यातना दिइएको भन्दै विष्टले भने "गाँउमा सबैलाई धम्की दिएका कारण कसैले बोल्न सकेका छैनन् । धम्कीकै कारण पीडितले पनि उजुरी गर्न सकेका छैनन् ।"

घटनाका विषयमा प्रशासन र प्रहरीलाई समेत जानकारी हुन सकेको छैन । पीडितलाई कसैले पनि साथ नदिएका कारण घटनाबारे प्रशासनलाई उजुरी दिन नसकेको बताएका छन् ।

"घटनाका विषयमा हामीलाई कुनै जानकारी छैन," प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने । यसै सूचनाका आधारमा अविलम्ब छानविनका लागि प्रहरी खटाइने उनले बताए । अपराधको अनुसन्धान गरी अपराधी जोसुकै भएपनि कारबाही हुने उनले जनाए ।

घटनाका विषयमा एकीकृत माओवादीका जिल्ला इन्चार्ज भरत धानुकले पार्टीलाई कुनै जानकारी नभएको र घटना भएकै भए पार्टी नितिविपरीत भएकाले दोषी ठहरिएमा भट्टलाई पार्टीको आवश्यक कारबाही गर्ने बताए ।
Source: http://www.inseconline.org/

« Go Back
Supporters / Sponsors :