दलित समाचार » बालिघरे प्रथाले दलित समस्यामा |
||
| बालिघरे प्रथाले दलित समस्यामा
Posted: June 6, 2010 सुर्खेत (खजुरा) । वर्षभर अर्काको काम गरेर ज्याला माग्न जाँदा पनि रित्तो हात फर्किनुपर्छ । वर्षभर काम गराएका विष्टले उब्जनी नभएको बहाना बनाएर बालिघरे दलितलाई रित्तो हात फर्काउने गरेको उनीहरूको गुनासो छ । सुर्खेत बजेडिचौर गाविस झ्यामाका दलबहादुर परियार गाउँभरिका गैरदलितको कपडा सिलाउँछन् तर पैसा भने लिँदैनन् । तर, भनेको समयमा ज्यालास्वरुप खलो -बाली) नपाउँदा उनीहरू समस्यामा पर्ने गरेका छन् । वर्षे र हिँउदेबाली स्याहार्ने बेला विष्टको खलोमै पुगेर उनीहरू आफ्नो श्रमको ज्याला ‘बाली’ उठाउने गरिन्छ जसलाई बालिघरे प्रथा भनिन्छ । सातजनाको परिवार पाल्न उनले पुख्र्यौली पेसा अपनाउँदै आएका हुन् । दलबहादुरजस्तै कपडा सिलाउने, आरन र सुनको काम गर्ने दलितले पुस्तांैदेखि श्रमअनुरुप ज्याला नपाउँदा दैनिक गुजारा गर्न कठिनाइ भएको छ । ‘वर्षैभरी अर्काको काम गरेर ज्याला माग्न जाँदा पनि रित्तो हात फर्किनुपर्छ । वर्षभरि काम गराएका विष्टले उब्जनी नभएको बहाना बनाएर बालिघरे दलितलाई रित्तो हात फर्काउने गरेका छन् । वर्षैभर काम गर्यो, ज्याला माग्ने बेला हात थाप्नुपर्छ,’ दलबहादुर भन्छन् । सरकारलेे अन्य मजदुरका लागि दैनिक रु १२० ज्याला निर्धारण गरेको छ । तर, बिहानदेखि साँझसम्म काम गर्ने बालिघरे दलित मजदुरको वर्गीकरणमा पर्न सकेका छैनन् । नौजनाको परिवार पाल्न पुस्तौँदेखिको बालिघरे प्रथालाई निरन्तरता दिएका बिर्मी परियार अहिले अन्यायमा परेकी छन् किनभने पुरुषसरह काम गर्ने उनी ज्याला भने पुरुषले भन्दा कम पाउँछिन् । बिर्मी परियारले भनिन्- महिला भनेर ज्याला कम दिन्छन्, छैन भनेपछि के गर्ने चित्त बुझाउनै पर्यो । संविधानसभा निर्वाचनपछि नयाँ कानुन बन्ला र आफ्नो श्रमको मूल्य पाइएला भनेर आश गरेकी वृद्धा बिर्मी निराश छिन् । ‘बाँचेसम्म त सरकारले केही गर्ला भन्ने आश छ,’ उनले भनिन् । बालिघरे प्रथाका कारण श्रमशोषणमा परेका दलितले अन्य मजदुरसरह आफ्नो पनि ज्याला निर्धारण गर्नुपर्ने माग गरेका छन् । उनीहरूले नयाँ संविधानमा ज्यालाको प्रत्याभूति गर्नुपर्ने बताएका छन् । आफ्ना हकअधिकार पनि नयाँ संविधानमा लेखिनुपनेे माग उनीहरूको छ । बिर्मी परियार भन्छिन्- अब त नयाँ नेपाल बन्दैछ भन्छन्, हाम्रो अधिकार पनि संविधानमा स्थापित हुनुपर्छ । सुर्खेतलगायत मध्यपश्चिमका जिल्लामा पाँच हजार बढी बालिघरे परिवारले दैनिक ज्यालाभन्दा वर्षको दुईपटक ज्यालास्वरुप खलो (बाली) लिने गरेका छन् । सुर्खेतमा मात्र तीनसय बढी बालिघरे दलित परिवार छन् । « Go Back |
Supporters / Sponsors :
