दलित समाचार » दलित प्रअ नियुक्ती गरिएको भन्दै माओवादीद्वारा आपत्ति
दलित प्रअ नियुक्ती गरिएको भन्दै माओवादीद्वारा आपत्ति
Posted: March 3, 2010
रमेशचन्द्र अधिकारी
धनकुटा, फाल्गुन १९
विद्यालयमा दलित जातिबाट प्रधानाध्यापक नियुक्ति गरिएको प्रति माओवादीले आपत्ति जनाएको भन्दै जिल्लास्थित दलित संघ संस्थाले विरोध जनाएका छन् ।
ग्रामिण सामाजिक माध्यामिक विद्यालय घोर्लिखर्कका नवनियुक्त प्रधानाध्यापक कुमार विश्वकर्माको विषयलाई लिएर माओवादी गाउँ कमिटीले आपत्ति जनाएको दलित संघसंस्थाले जनाएका छन् । उक्त घटनाबाट समग्र दलित समुदायको मानमर्दन गरेको भन्दै संघसंस्थाले विज्ञप्ति मार्फत विरोध जनाएका हुन् ।
हालै गठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलम विश्वकर्माको अध्यक्षतामा गत साता बसेको बैठकले निवर्तमान प्रधानाध्यापक राजेन्द्रप्रसाद चौधरीले समितिको निर्णय नमानि अनुशासन मिच्ने गरेको भन्दै नयाँ प्रअ नियुक्ति गरेको थियो ।
उक्त विषयलाई माओवादीको गाउँ कमिटीका सह-सेक्रेटरी देवेन्द्र कुमार श्रेष्ठ र ईलाका ईन्चार्ज गोपालराज थापाले दलितलाई प्रअ जस्तो गरिमामय पदमा लानु भनेकोे सिंगो गाउँको नै बेइज्जत भएको भन्दै विरोध जनाएको विज्ञप्तिमा उल्लेख छ । दलितलाई प्रधानाध्यापक बनाउँदा माथिल्लो जातिका शिक्षकको अपमान भएको भन्दै केही मान्छेलाई उचालेर विद्यालयको पठन पाठन प्रभावित पार्ने कार्य भएको पनि विज्ञप्तिमा जनाईएको छ ।
अझै पनि दलित समुदायमाथि अन्याय तथा विभेदजन्य कार्य हुने गरेको भन्दै दलित समन्वय समिति, दलित एकता समाज लगायतका संघसंस्थाले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भत्र्सना गरेका छन् । समाजका संयोजक रविन्द्र नेपालीले यस्ता विभेदजन्य कार्यलाई निरुत्साहित गर्न जरुरी रहेकोमा जोड दिएका छन् ।
विज्ञप्तीमा माओवादीको देखाउने र चपाउने दुई खाले दाँत भएको र दलितलाई हेर्ने दृष्ट्रिकोणमा संकुचित भएको उल्लेख गरिएको छ । दलित प्रअ भएकै विषयलाई लिएर एकिकृत माओवादी विरोध गरेको भन्दै सिगों दलित समुदाय आन्दोलनमा उत्रने विज्ञप्तीमा चेतावनी दिइएको छ ।
स्थानीयबासीले भने प्रक्रिया पुरा नगरि जबरजस्तिरुपमा व्यवस्थापन समितिले प्रअ हटाई नयाँ नियुक्ती गरिएको भन्दै शिक्षा कार्यालय समक्ष छानविनका लागि माग गरेका छन् ।
त्यसैगरी उक्त विषयमा माओवादीले जातियताको विरोध नभई गलत नियुक्ति प्रक्रियाप्रति आपत्ति जनाईएको स्पष्ट पारेको छ । उक्त पार्टिका गाउँ कमिटी सह-सेक्रेटरी देवेन्द्रकुमार श्रेष्ठले कानुन विपरित पहिलेका प्रधानाध्यापक चौधरीले कार्य गरे पनि स्पष्टिकरण माग्नु पर्नेमा जर्वजस्ति हटाएकोमा मात्र आपत्ति जनाएको बताए ।
Source: www.ekantipur.com

« Go Back
Supporters / Sponsors :