दलित समाचार » दूध चुस्दा चुस्दै बिहे |
||
| दूध चुस्दा चुस्दै बिहे
Posted: February 26, 2010 शिब पुरी रौतहट, फाल्गुन ६ - विवाहका लागि केटाकेटीको उमेर कति वर्षको हुनुपर्छ ? १८ वा त्योभन्दा माथि । यो नेपालको मुलुकी ऐनले नै किटानी गरेको छ । उमेर नपुगी वा केटाकेटीको स्वीकृतिबेगर बिहे गराए कानुनी कारबाही हुने छ । अझ नाबालक बिहेको त अरु बढी कारबाही होला । तर रौटहतका केही गाउँमा दूधे बालकको नै बिहे हुन्छ । परिपक्क उमेरपछि बेहुली बनेर मण्डपमा बस्नुपर्नेमा चन्द्रनिगाहपुर गाविस ७ कि शिलाकुमारी मल्ली -डोम) को त ४ वर्षको उमेरमै आमाको दूध चुस्दाचुस्दै डोलीमा अन्मिएकी छन् । मण्डपमा आमा उमरावतीको काखमा लोलाइरहेकी थिएन तर उनको विवाह धुमधामसँग भइरहेको थियो । उनलाई जीवन संगीनी बनाउन आउने बरको उमेर पनि ६ वर्षको मात्रै थियो । छिमेकी बाराको गञ्जभवानीपुर गाविसका विनोद मल्लीको ६ वषर्ीय छोरा विकेशको विवाह चन्द्रनिगाहपुर ७ का कैलाश मल्लीले ४ वषर्ीया छोरी शिलासँग माघ २५ गते सोमबार सम्पन्न भएको छ । मण्डपमा बाबुआमाको काखमा बसेर बालबालिकाको विवाह हुँदा बेहुला, बेहुली भने खेलेजस्तो गरी मुसुमुसु हाँसिरहेका थिए । तराईमा कथित तल्लो जाति डोम समुदायमा बिहेका लागि अभिभावकहरू काखमा छँदादेखि नै हतारिने गरेको पाइन्छ । दुबै नाबालक बेहुला बेहुली आ-आफ्नो अभिभावकको काखमा बसेर विवाहको विधि सकेका थिए । यसै क्रममा सञ्चारकर्मी पुगी तस्बिर खिच्न लाग्दा उनीहरू डराएको मानसिकतामा दुबैलाई लुकाउने प्रयास गरेका थिए । रातिको समयमा सुत्न नपाउँदा बेहुली शिलाकुमारी भने घरीघरी सुत्न जान नपाएको झोकमा रुने गर्थिन् । 'हामीले राजी खुसीले आफ्ना छोरा-छोरीको विवाह गरिदिएका हौ,' नाबालिकाका पिता कैलाशले भने, 'छोरीको बिहे सानै उमेरमा गरिदिए दाइजो कम लाग्ने, बिहेको झन्झट सकिने र रजस्वलापछि विवाह गर्दा पापको बोझ बोक्नुपर्ने हुन्छ ।' बालबिबाह कानुनी रुपमा दण्डनीय भएबारे उनले भने, कानुनमा के छ थाहा छैन आफूहरूको परम्परा नै सानै उमेरमा विवाह गरिदिने चलन छ । सामान्य परिवारको भए पनि केटा पक्ष भने बैण्ड बाजा र नर्तकीसहित आएका थिए । विवाह सम्पन्न भए पनि उनीहरूको परिपक्व उमेरमा दोङ्गा अर्थात गौना गरेर घर पठाइने चलनले गर्दा नाबालिका आमा बुबाकै घरमा बसेकी छन् । केटी पक्षले केटालाई दाइजोस्वरुप साइकल र ७ हजार नगदसमेत दिएका थिए । बेहुलीपक्षले डोम जातिको परम्परा अनुसार विवाहमा आउने जन्तीलाई ५ हजारको बंगुरको मासु र २ सय बोतल रक्सी खुवाएका थिए । तराईमा दाइजो प्रथा र बालविवाहको चलन अझै पनि हटेको छैन । दलित नेटवर्कका धर्मेन्द पासवानले गरिबी र अशिक्षाका कारण सानै उमेरमा विवाह गर्ने गरेको बताए । उनले भने यो चलन बिस्तारै हराएर जाने छ । श्रोत: ekantipur.com « Go Back |
Supporters / Sponsors :
