दलित समाचार » बालिका बलि दिएको स्वीकार |
||
| बालिका बलि दिएको स्वीकार
Posted: February 23, 2010 भवसागर घिमिरे, काठमाडौं, फागुन ११- रुपन्देही मझगाउँमा घाँटी रेटी हत्या गरिएकी दलित परिवारकी आठ वर्षीया मनिषा हरिजनलाई आफूले इँट्टाभट्टामा बलि दिएको आरोपी नेवास पालले स्वीकार गरेका छन्। झाँक्रीको काम गर्ने पालले इँट्टाभट्टाका मालिक वीरेन्द्र जैसवालको निर्देशनमा बलि दिएको प्रहरीलाई बताएका छन्। 'मैले जैसवालकै आदेशमा बलि दिएर इँट्टाभट्टामा चढाएको हुँ,' पालको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी छविलाल बन्जाडेले नागरिकलाई टेलिफोनमा बताए। गत मंसिर १९ गते बिहान मनिषाको शव घाँटी रेटिएको अवस्थामा इँट्टाभट्टादेखि तीन सय मिटर उत्तरतर्फ भेटिएको थियो। जानकारी पाएलगत्तै अधिकारकर्मी घटनास्थल पुगेका थिए। इँट्टाभट्टाको चुलो वरिपरि रगतका टाटा, फूल, नरिबलका खपटा, अगरबत्ती भेटिएको जागरण एफएम रुपन्देहीका पत्रकार दिनेश हरिजनले बताए। स्थानीय प्रहरी चौकीले सो घटना दर्ता गर्न मानेको थिएन। अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालयमा दबाब दिएपछि मात्र प्रहरीले मुद्दा दर्ता गरेको थियो। हत्या आरोपमा झाँक्री पाल र उद्योगका मालिक जैसवाललाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूसँगै इँट्टाभट्टा कामदार नरेश हरिजन र भारतका बलिकरण राजवाल पनि पक्राउ परेका थिए। सबै आरोपीलाई पुर्पक्षका लागि थुनामा राखिएको एसपी बन्जाडेले बताए।
'हामीलाई परीक्षण रिपोर्टबारे कुनै जानकारी छैन,' महिला अधिकारकर्मी किरण पन्थीले टेलिफोनमा भनिन्। एसपी बन्जाडेले भने रिपोर्टमा परीक्षणका लागि पठाइएको नमुना मानिसको रगत नभएको उल्लेख भएको जानकारी दिए। पन्थीले भनिन्, 'यो रिपोर्ट आममानिसको आँकलन विपरीत आएको छ। यसमा फेरि छानबिन हुनुपर्छ।' पालले बालिकालाई इँट्टाभट्टामा चढाएको स्वीकार्नु, इँट्टाभट्टा आसपासमा रगतजस्तो देखिने टाटा भेटिनु, तर रिपोर्टमा मानिसको रगत होइन भन्ने उल्लेख हुनुले घटना रहस्यमय भएको अधिकारकर्मीको भनाइ छ। केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाका एसपी शाहले भने पुनः परीक्षणका लागि नमुना राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा लैजान सकिने प्रतिक्रिया दिए। उनले भने, 'हामीसँग पूर्ण टेक्नोलोजी भए पनि पर्फेक्ट नहुन सक्छौं। अरु नमुना ल्याउन सकिने अवस्था भए वा पहिला परीक्षण गरिएको नमुना सुरक्षित भए परीक्षणका लागि फेरि खुमलटारमा पठाउन सकिन्छ।' आरोपीले बालिका हत्या गरेको स्वीकार गरेकोले हत्यामा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने जिल्ला प्रशासन कार्यालयका रूपन्देहीका एसपी बन्जाडेले बताए।श्रोत: नागरिक दैनिक « Go Back |
Supporters / Sponsors :
