दलित समाचार » दलित दम्पती न्याय माग्दै प्रशासनमा
दलित दम्पती न्याय माग्दै प्रशासनमा
Posted: December 16, 2009
भक्तपुर, २०६६ मंसिर ३० - सरकारले दलित र गैरदलितबीचको विवाहलाई प्रोत्साहन गर्न एक लाख रुपैयाँ सहयोग गर्ने यसै वर्षको बजेटमार्फत घोषणा गरे पनि भक्तपुरमा एक जोडी विस्थापित भएका छन् ।

चार वर्षदेखि प्रेम गरिरहेका चित्तपोल ९ घर्तीगाउँका सागर परियार र संगीता थापा क्षेत्रीले गत भदौमा आफूखुसी विवाह गरेका थिए । दलितसँग विवाह गरेको भन्दै केटी परिवारले मार्ने धम्की दिएपछि गाउँमा जान नसकेको परियारले बताए । 'जहाँ भेट्यो त्यहीं मार्छु भनेर उनका -संगीतालाई देखाउँदै) आफन्तले खोजिरहेका छन्,' जिल्ला प्रशासन कार्यालयमा पुगेका ती जोडीले सीडीओ दीपकराज नेपाललाई भने, 'हामीलाई गाउँमा गएर बस्ने वातावरण मिलाइदिनुपर्‍यो ।'

भदौ १५ मा विवाह भएको उनीहरूको जोडी गाउँमा बस्न सक्ने वातावरण नभएपछि काठमाडौंस्थित भोटेबहालमा कोठा भाडामा लिएर बस्ने गरेको उनले सुनाए ।

दलित र गैरदलितबीच विवाहलाई प्रोत्साहन गर्न सरकारले विभिन्न कार्यक्रम ल्याए पनि राजधानीसँगै जोडिएको जिल्लामा गाउँबाट विस्थापित हुनुपरेको जिल्ला दलित समन्वय समितिका उपाध्यक्ष सरोज परियारले बताए ।

 राजधानीसँगैको जिल्लामा पनि दलित र अन्य जातिबीच छुवाछुत र विभेद यथावत रहेको उनले बताए । 'विवाह गरेकै निहँुमा राजधानीसँगै जोडिएको जिल्लाको गाउँबाट विस्थापित हुनुपरेको छ,' उनले भने, 'अन्यत्र कस्तो समस्या भोग्नुपर्ला ।' केटी पक्षले अझै केटालाई स्वीकार गरेको छैन्ा ।

विवाह भएको पाँच महिना भइसक्दा पनि मार्ने धम्की आएपछि मेलमिलाप गरी सुरक्षा व्यवस्था गरिदिन उक्त जोडी मंगलबार जिल्ला प्रशासन पुगेको थियो ।

सीडीओ नेपालले दुवै जनाको नागरिकता नभएकाले नागरिकता बनाएर विवाहदर्ताको प्रक्रियामा लाग्न सुझाव दिएका छन् । दुवैका परिवारबीच मेलमिलाप गराई गाउँमा बस्ने वातावरण बनाउन सहयोग गर्ने नेपालले बताए ।
« Go Back
Supporters / Sponsors :