दलित समाचार » एक सय ४० दलित बालबालिका पहिचानविहीन |
||
| एक सय ४० दलित बालबालिका पहिचानविहीन
Posted: November 30, 2009 जाजरकोट/ विजय प्राथमिक विद्यालय स्याला जाजरकोटमा कक्षा पाँचमा अध्ययनरत छात्रा मीना १४ वर्षकी भइन् । उनलाई अहिलेसम्म आफ्नो थर के हो भन्ने पत्तो छैन । कसैले नाम सोध्यो भने उनी मीना मात्रै भन्छिन्, थर बताउन सक्दिनन् । उनको विद्यालयको रेकर्डमा समेत नाम मात्रै उल्लेख छ, थर छैन । खलंगा-२ की पुतली सुनारबाट जन्मिएकी यी बालिकाको बाबुको पत्तो नभएकाले थर राख्न समस्या परेको विद्यालय प्रशासनले जनाएको छ । जाजरकोटमा उनीजस्ता बाबुको ठेगान नभएका बालबालिका सयौं छन् । राष्ट्रिय दलित नेटवर्क जाजरकोटले संकलन गरेको तथ्यांकअनुसार जिल्लाभरि एक सय ४० बालबालिकाको बाबुको पत्तो लाग्न सकेको छैन । उनीहरूमध्ये ८३ बालक र ६७ बालिका रहेका छन् । विपन्न दलित समुदायका महिलासँग माथिल्लो भनिने जातका पुरुषको अबैध सम्बन्धबाट जन्मिएका यस्ता बालबालिकालाई शिक्षा, स्वास्थ्यको कुरा टाढा छ । पेट भर्न जीउ ढाक्नसमेत अरूको ढोकामा हात थाप्नुपर्ने बाध्यता छ । यस्ता बालबालिकाले बाबुको ठेगान नहुँदा सानामा कसैको घरमा बसेर पेट पाल्ने र ठूलो भए भारत जाने गरेको नागरिक समाजका संयोजक केशवजंग शाह बताउँछन् । ३० गाविस रहेको जाजरकोटको तीनवटा गाविस बाहेक अरू सबै गाविसमा बेवारिसे बालबालिका रहेका छन् । सबभन्दा धेरै भुर गाविसमा नौ बालक र चार बालिका रहेका छन् भने कम सुवानाउली गाविसमा एक बालिका रहेकी छिन् । श्रोत: नयाँ पत्रिका दैनिक « Go Back |
Supporters / Sponsors :
