दलित समाचार » सीपमूलक व्यवसायबाट दलित महिला आर्थिक रुपमा आत्मनिर्भर
सीपमूलक व्यवसायबाट दलित महिला आर्थिक रुपमा आत्मनिर्भर
Posted: November 29, 2009
पर्वत मंसिर १४ । छिमेकीको घरमा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका दलित परिवारका महिलाहरु आयआर्जनको काममा लागेपछि आर्थिकरुपमा आत्मनिर्भर बन्न थालेका छन् । पर्वतको आर्थर गाविसका विपन्न दलित महिलाहरुले सीपमूलक व्यवसाय साचालन गरेर आयआर्जन गर्न थालेपछि आत्मनिर्भर बनेका हुन् ।
गुरुङ जातिको बाहुल्यता रहेको सो गाविसको वडा नं। ६ का दलित महिलाहरुको आर्थिक अवस्थामा सुधार आउन नसकेपछि उनीहरुले विगतमा गुरुङ परिवारको घरमा ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका थिए ।
आर्थिक अवस्था कमजोर बनेपछि आफ्ना छोराछोरीलाईसमेत उचित शिक्षा दिलाउन नसकेका दलित महिलाहरु यतिबेला विभिन्न सीपमूलक तालिम लिएर आयआर्जन गर्न थालेको स्थानीय लक्ष्मी सुनारले बताइन् ।
‘अब आफैँले केही आम्दानी गर्न थालेकोले समस्या नहोला’-उनले भनिन् ।
परिवारका सदस्यलाई पूर्णरुपमा खाने र लगाउने खर्च जुटाउनसमेत धौ-धौ भएपछि आफ्ना छोराछोरीलाई गुरुङको जिम्मा लगाउने गरेका उनीहरु अब छोराछोरीलाई घर फर्काएर शिक्षादीक्षा दिलाउने आशामा रहेका छन् ।
दलित महिला उद्यमी सुनारले भनिन्-’अब हामी व्यवसायबाट जीवन धान्ने आशासँगै बालबालिकालाई उचित शिक्षादिने प्रयासमा छाँै ।’
महिलाहरुले झोला बुनेर बिक्री केन्द्रमा पठाउन सुरु गरेका छन् । सामान्यता ज्याला मजदुरीबाट प्रतिदिन रु। ६० आम्दानी भए पनि उनीहरुले झोलाबाट प्रतिदिन रु। १०० सम्म मुनाफा कमाउन थालेका छन् । उनीहरुले बुनेका झोला बिक्रीका लागि सदरमुकाममा स्थापना गरिएको घरेलु उत्पादन बिक्री केन्द्रबाट खपत हुने गरेको छ ।
‘गाउँमा पनि धेरै माग हुन थालेको छ ।’-उनले भनिन् । लघु उद्यम विकास कोषको सहयोगमा सेवा नेपाल पर्वतले स्थानीय १३ विपन्न दलित महिला तथा युवतीलाई ऊनीको झोला बुन्ने तालिम दिइएको थियो । अहिले सबै महिलाहरु आयआर्जनको बाटोमा लागेको सेवा पर्वतका कार्यक्रम संयोजक युधिष्ठिर शर्माले बताउनुभयो ।
झोला बिक्रीबाट धेरै महिलाहरु आत्मनिर्भर बन्न थालेका छन्ु-उहाँले भन्नुभयो ।
Source: www.dhaulashree.com/

« Go Back
Supporters / Sponsors :