दलित समाचार » जीवन निखन्दै मुसहरहरू
जीवन निखन्दै मुसहरहरू
Posted: November 24, 2009
रामशरण बजगाईं
bajagain.ramsharan@gmail.com
धानका बोराले भरिएका एक बथान बयलगाडा महाजन बस्तीतिर तेर्सिँदै गरेको बबिता सदाले आँखामा हत्केलाको छायाँ पारेर हेरिन् । माटोका तीन चम्कामा अड्याइएको सिल्बरे कराहीमा मुसुरोको माड उम्लिँदै थियो फुस्को (पराले झुपडी) अगाडि । सल्किँदै गरेका सिटा आगोमा झोस्दा उडेको फूलखरानी आधी मुसुरोको माडमा पर्‍यो र आधीजसो खरानीलेे ऋणले थिचिएको बबिताको कपाललाई सेताम्यै बनायो । खासमा हतार गर्दै थिइन् बबिता र गौरी महाजनको धान काट्न जानु छ आज । 'नत्र के खानु छ र बेलुकी र्फकेर,' उनी भन्दै थिइन् । २५ वर्षे जोबनमै शताब्दी उमेरको जीवन शिक्षा हासिल गरेको देखाउँछ अनुहारले । उमेरभन्दा दोब्बर बूढी छिन् बबिता र जीवनका कष्टकर कहरले सय वर्ष पुर्‍याएझैँ लाग्छ ।

झुपडीका झुरुप्प बस्तीवरिपरि फाँटबाट घामले ओइलाएको परालको गन्ध एकनास आइरहेको छ । गालामा भर्खरै आँसु सुकेका लामा धर्से दाग लिएर उम्लिँदै गरेको मुसुरो हेर्दै छ तीनवर्षे छोरो दीपेन्द्र । ऊ हल्का बिमार भएकैले अलि झगडालु भएको छ । हिजो दाल पिउँछु भनेर हत्ते हालेपछि अघिल्लो दिनको कमाइले मुसुरो ल्याएर उमालेकी थिइन् बबिताले । 'दाल पिउँछु भनेर रुँदै छ,' छोराको रुवाइलाई भाषामा अनुवाद गरेर सुनाइन् उनले । २५ वर्षीया बबिता दुई वर्षदेखि माइतीकै फुस्कोमा छिन् । चार वर्षअघि पकरियातिर बिहे गरेर दुई वर्षमा दुई सन्तान जन्माएपछि लोग्नेले लखेटिदियो । सकुम्बासी ६० वर्षीय बाबु करन सदाको फुस्कोमा दुई पुस्ता अघिदेखि लागेको ऋण चुक्ता गर्न कस्सिएका छन् उनीहरूका शाखा सन्तानै । फुस्कोको छानो अड्याउन ठड्याइएको खाँबोमा झुत्रे झोलुंगो झुन्डिएको छ । त्यसैमा नाबालक सन्तानलाई झुन्ड्याएर महाजनको धान काट्न जान्छन् हुर्केका सबै परिवार । झोलुंगोमा रोईरोई थाकेका बालकहरूले पनि बुझेका छन् करन र बबिताको जीवनका ऋणका कहर । त्यसैले रुन्छन् र आफैँ चुप लाग्छन् तिनीहरू ।

यो करन सदाको एक्लो फुस्कोको मात्र कथा होइन । धनुषा जिल्लाको भुतही पटेरवा र गोविन्दपुर गाविसका एक सय ४५ फुस्कोमा रात काट्ने परिवारको व्यथा हो । थाप्लोमा लागेको पुस्तौनी ऋण छिचोल्न हरेक परिवार ऐलानी जग्गामा बनाइएका झुप्रामा रात कटेरै दिनभर महाजनका खेत खलियानमा काम गर्छन् । र, उनीहरूका लगातार पुस्ताहरू चर्काे ब्याजको ऋण नछिचोली देह बिसाउँछन् । प्रत्येक फुस्कोमा महाजनको ऋण लगानी छ र हरेकका कथा उस्तै छन्, बरु कथामा थपिएका छन् दुःख र व्यथा ।

२१ वर्षीय भगवान सदाको फुस्को अर्कै छ । तर, व्यथा उनको पनि उही हो । एकपटक भाँचिएर जोडेको देब्रेखुट्टा खोच्याएरै शिवशंकर महाजनको खेतमा जोत्न जाने तरखर गर्दैछन् । शिवशंकर, राजाराम र प्रमोद महाजनसँग परिवारले लिएको ऋणमा ब्याज बढेर ४० हजार पुगिसक्यो । एक सय रुपैयाँबराबर एक महिनामा १० रुपैयाँ ब्याज तिर्नुपर्छ । एक महिनापछि त्यो १० रुपैयाँ पनि साँवामा बदलिन्छ र त्यसको पनि ब्याज लाग्छ । बिरामी पर्दा महाजनले दिएको पाँच सय र हजार रुपैयाँमा मासिक ब्याज बढ्दै गएर यति ठूलो ऋण लागेको हो भगवानलाई । धान काट्ने र रोपाईं गर्ने सिजनबाहेक काम पाउँदैनन् उनीहरू । धान काट्ने सिजन चलेकाले ६१ वर्षीय बाबु चन्दर सदा पनि महाजनको काममा खटेका छन् । दिनभर धान काटेपछि ६ किलोग्राम धान ज्याला पाउँछन् उनीहरूले । एक किलोग्राम धानको १० रुपैयाँमा बेचेर ६० रुपैयाँमा ऋणको ब्याज र जीवनका सबै आवश्यकता त्यसैबाट धान्नुपर्छ उनीहरूले ।

ऋणमोचन गरेर जीवनका दुःख छिचोल्न दिल्ली पुगेका भगवान दुई वर्षअघि खुट्टा भाँचेर र्फकेका थिए । 'चप्पल फ्याक्ट्रीमा काम गर्थेँ, छतबाट लडेर खुट्टा भाँचियो, कमाएको सबै रकम उपचारमै सकियो,' उनले सुनाए । आफ्नो जिन्दगी महाजनको काममा समर्पण गर्न त उनमा कुनै पर्वाह थिएन । गर्भैका सन्तानसमेत साहुको बाँधा बस्नुपर्ने पिरलोले मात्र भगवान आत्तिएका छन् । 'बाबुले लिएको ऋण मेरै जीवनमा तिर्न सक्दिनँ होला,' भगवानले यस्तो सुनाउँदै गर्दा उनको दुईवर्षे छोरो नजिकै खरानीको थुप्रोमा खेलिरहेका थिए । माघभित्र तिर्न नसके ब्याजसमेत जोडेर ६२ हजार ऋण पुग्ने हिसाब छ उनको । भुतही पटेरवा-५ को ऐलानी जग्गामा फुस्को बनाउन बाँसका चिर्पट र पराल किन्दाको ऋण हो उनको । फुस्को बनाउन, भुइयाँपूजा गर्न, बिहे गर्न र बिरामी हुँदा उपचार गर्न ऋण काढ्ने गर्छन् सबै सदाहरू ।

दिनहुको छाक त दिनहुको ज्यालाले नै चलाउने गरेका छन् उनीहरूले ।

मुसहर बस्तीमा सबैका फुस्को पराल ओढाइएका घोडाजस्तै देखिन्छन् । बाँसका चिर्पट छोप्न कतिपयले माटोले गाह्रो लिपेका छन्, बाँस किन्न नसक्नेहरूको फुस्काले आकाश मात्र छोप्छ । एउटै कम्मलले फुस्कोमा राति छड्के छिरेको शीत छल्छन् उनीहरू । ११ जनासम्मको परिवार एउटै कम्मलमा गुटमुटिनु छ, तर यो उनीहरूका लागि दुःख होइन । 'दुःख त कर्जा हो, त्यो तिर्न नसके महाजनले लैजान्छ र थुन्छ,' भगवान सदाले अत्यास पोखे । धेरैजसोका फुस्कामा भाँडावर्तनका नाममा एउटा सिल्भरे कराही मात्र छ । भात पनि खान पाइने दिन पहिले कराहीमा भात पाक्छ, भात केराका पातमा खन्याएर त्यसैमा मुसरो उमाल्छन् उनीहरू ।

फुस्कोमा बिरामी भएर सुतेको बालक । उसलाई बचाउन कर्जा खोज्दै हिँडेको बाबु ऋण पाउँदा खुसी हुन्छ या दुःखी ? यहाँ दुःखको पहाड अझै चुलिन्छ । फुस्कोमा ज्वरोले निष्पट्ट सन्तान छोडेर महाजनको घरमा बिहानै पुगेको बाबु गोठको भकारोमा दिनभर लडीबुडी गर्छ र बेलुकी रित्तै फर्किन्छ । कारण त्यो दिन महाजनको भदवा

(अन्नको भकारी र पैसाको ढुकुटी) फोर्नुहुँदैन र साँझमा पैसा दिए घरबाट धनलक्ष्मी भाग्छ रे । 'कहिले भदवा फोर्नुहुँदैन भन्छन्, कहिले बार मिलेन भन्छन्,' दुखरन सदाले ऋण लिँदाको अनुभव सुनाए । ऋण लिन गएका वेला गरेको सबै कामको हिसाब हुँदैन र ज्याला पनि पाइँदैन ।

मुसहर बस्तीका हरेक फुस्काभित्रका व्यथाको एउटै कारण उनीहरूको जमिन नहुनु हो । 'कर्जाका लागि आवश्यक पार्दा धितो राख्ने जमिन भएको भए यत्रो ब्याज पर्दैन,' दुखरनले सुनाए । हरेक मुसहर परिवारले लिएको ऋणबापत प्रतिमहिना सयकडा पाँचदेखि दस रुपैयाँसम्म तिर्नुपर्छ । एक सय रुपैयाँको वाषिर्क ब्याजमात्र एक सय २० हुन्छ । आफ्नै जमिनमा फुस्को र खेती गर्ने थोरै जमिन भए जीविका चल्ने उनीहरू बताउँछन्, तर उनीहरूका पीडा सुनिदिने कसले ? थोरै भएको घरखेत महाजनहरूले लिलाम उठाएपछि २५ वर्षदेखि भूमिहीन छन् उनीहरू । घर महाजनहरूले कब्जा गरेपछि ऐलानी जग्गामा बनाइएका फुस्कामा पनि महाजनहरूले नै आगो लगाइदिए । 'फुस्कामा आगो लगाएर बस्ती सबै खरानी भयो, त्यसैवेला मेरो खुट्टाको मासु खुर्किएको थियो,' २५ वर्षअघिको घटना सुनाए दुखरन सदाले । मासु खुर्किएका उनका पिँडौलामा हड्डी ढाक्ने छालाको लेपनमात्र छ । उनले त खुट्टामात्र गुमाएका थिए । त्यसबखत उनीसँगैका चारजनालाई भाला रोपेर मारिएको थियो । 'जसले लोग्नेलाई मारे उनैको कर्जा तिर्न नसकेर उनैको खेतमा दिएको काम गर्नुपर्छ,' मन्तोरिया सदाले भनिन् । उनका लोग्ने २० वर्षअघि महाजनहरूको भालाको सिकार भएका थिए । मन्तोरियाका तीन छोरा जीवन निखन्न महाजनको खेतमा शरीर रगडिरहेका छन् ।

मुसहरका हरेक फुस्काहरू जमिनहीन मात्र छैनन् । उनीहरूलाई राज्य र राजनीतिक दल महाजनजस्तै लाग्छन् । गाउँ विकास समितिले मुसहर बस्तीका लागि सुको खर्चेको छैन आजसम्म । खानेपानीको कुरै छाडौँ, स्वास्थ्यचौकीमा लगिएका मुसहरहरूलाई जे रोग लागे पनि एमोक्सिलिन र सिटामोल लिएर फर्किन्छन् । 'जस्तो रोग लागे पनि हामीलाई सिटामोल र एमोक्सिलिन दिन्छन्,' कल्पना सदाले सुनाइन् । उनले औषधिको नाम जानेकाले यस्तो पत्ता लगाएकी हुन् । 'अरू औषधि माग्यो भने त हप्काइ खानुपर्छ,' उनले सुनाइन् । गाविसमा विपन्न र दलित परिवारका लागि गएको रकम त्यहाँ पुग्दैन ।

नेपालमा संविधानसभामार्फत नयाँ संविधान बन्न लागेको खबर उनीहरूमा छैन । तराई आन्दोलनले माग गरेको मधेसप्रदेश र सिंहदरबारमा चलिरहेको नागरिक सर्वाच्चताको आन्दोलनमा पनि उनीहरू सहभागी छैनन् । बरु घरीघरी चर्कँदै सेलाउँदै गरेको नागरिक सर्वाेच्चतावाला आन्दोलनमा महाजन बस्तीबाट फाट्टफुट्ट आउजाउ भइरहेको छ । लाग्छ, आन्दोलनका मसिहा मुसहर नभएर महाजनहरू नै हुन् । नयाँ नेपालका प्रदेशहरू जातीयताका आधारमा निर्माण गर्ने बहस चलिरहेका वेला मुसहर जातिको राज्य र राजधानी कहाँ होला भन्ने प्रश्नले चिमोटिरहन्छ । संविधान निर्माणको धिमा बाटोमा हिँडेको संविधानसभाले जात वा वर्ग कुन मापनबाट राज्यशक्तिको बाँडफाँड गर्छ, त्यसैमा मुसहर बस्तीको भविष्य निर्भर छ ।

राजनीतिका वाद र विचारधारा किताबमा, भाषणमा र घोषणापत्रमा खुब बाझेका छन् । तिनै किताब, भाषण र घोषणापत्र हेरेर संविधानसभाका ६ सय एक सदस्यलाई अग्रगामी, प्रतिगामी, यथास्थितिवादी वा क्रान्तिकारी कित्तामा परिभाषित गरिएको छ । तर, सिंगै ६ सय एकले राज्यबाट उस्तै अवसर पाएका छन्, उनीहरू सेवा र अवसरमा एउटै कित्तामा देखिन्छन् । समाजभित्र भने मुसहरजस्ता विपन्नहरू मात्रै ऋणमा डुबेका छन् । भुतही पटेरवा र गोविन्दपुरका मुसहर र महाजनको जस्तो खाडल संविधानसभामा छैन ।
Source: नयाँ पत्रिका दैनिक

« Go Back
Supporters / Sponsors :