बादी बालबालिकासँग नर्वेजियन राजदूत
Posted: June 9, 2010
राजदूतसँग एक घण्टा
(शरद चिराग) तपाईंको देशमा पनि छुवाछूत विद्यमान छ? त्यहाँ कस्तोखाले
भेदभाव हुन्छ? हामीलाई सहयोग गर्दा तपाईं साँच्चै कस्तो अनुभव गर्नुहुन्छ?
नर्वेजियन राजदूत थोर जिसलसेनले नोभेम्बरको पहिलो साता गरेको
सुदूरपश्चिमका तीन जिल्लाको भ्रमणका क्रममा कैलालीका बादी समुदायका
बालबालिकासँग झेलेका केही प्रश्न थिए यी।
मानवविकास सूचकांकमा यो वर्षपनि नर्वे पहिलो स्थानमा परेको खबर सार्वजनिक
भएको केही हप्तापछि सेभ द चिल्डे्रनले सहयोग गरेका कार्यक्रमहरू अनुगमन
गर्न गएका राजदूतले लैंगिक र मानवीय समता नर्वेको मौलिक अधिकार भएको र
सबैतिर त्यसो भए उत्तम हुने जवाफ फर्काए। शिक्षक बन्ने चाहना राख्ने
बालकलाई उनले गुणस्तरीय शिक्षाले नै अवसरहरू प्राप्त गर्न सकिने सुझाए।
पहिरोले बिगारेका सडकहरू छिचोल्दै अछाम र डोटीसम्म पुगेका राजदूतले त्यहाँ
काठमाडौंबाहिरको छुट्टै संसार देखे, जहाँ गरिबी र अरू सामाजिक समस्या
काठमाडौंका ट्राफिकजाम, फोहरका थुप्रो र लोडसेडिङको चिन्ताभन्दा भिन्न
थिए। राजदूत जिसलसेनले भोगे त्यो यथार्थ, जहाँ रोजगारीका अवसर छैनन्,
गुणस्तरीय शिक्षामा पहुँच पुर्याउन सकिएको छैन । गरिबीको त भो कुरा नगरूँ
! उताको कुरै बेग्लै, रोजगारीका लागि भारत जानुपर्ने, स्कुल जान
केटाकेटीहरूले घण्टौं हिँड्नुपर्ने र स्कुलमा शिक्षकको अभाव भएर पढाइ
रोकिनु सामान्य घटना हुन्।
नेपालका लागि नर्वेजियन राजदूत थोर जिसलसेन यतिखेर यस संवाददाताका अघि
छन्। आफ्नो नेपाल बसाइ, हालैको सुदूरपश्चिमको भ्रमण, यहाँको कूटनीतिक
अनुभव र नर्वेले नेपालका ऊर्जा, सुशासन, मानवअघिकार, शिक्षा र अरू
विकासकार्यमा गरेका सहयोगप्रयासका बारेका उनी मसिनो गरी बोलिरहेका छन्।
नेपालमा शान्तिप्रक्रिया शुरू भएदेखि नै नर्वे कुनै न रूपमा यसमा जोडिन
आइपुगेको छ। द्वन्द्वसमाधान र शान्तिस्थापनाका लागि उसको लामो अनुभव र
ऊर्जाको क्षेत्रमा उसको अनुभवले गर्दा नेपालको शान्तिस्थापना, नयाँ
संविधान निर्माण र आर्थिक सामाजिक विकासका सन्दर्भमा नर्वेको सहयोगको
धेरैले धेरैपटक चर्चा गरेका छन्।
नर्वे यसै पनि नेपालको ठूलो दातृराष्ट्र हो। उसले वाषिर्क ५० करोड अमेरिकी
डलर (झन्डै चालीस अर्ब रुपियाँ) नेपाललाई सीधा सहयोग गर्दै आएको छ। उसको
लगानी खास गरी ऊर्जा, वैकल्पिक ऊर्जा, मानवअधिकार तथा सुशासन,
शिक्षालगायतमा केन्द्रित छ।
केही अघि नर्वेले अयोग्य घोषित माओवादी लडाकाका लागि पुनःस्थापनामा सहयोग
पुर्याउन पाँच करोड डलर (दुई अर्ब रुपियाँ) सहयोग गर्ने घोषणा गरेको थियो।
‘हामी अहिले यसको प्रक्रियामा छौं’, राजदूतले भने- ‘उनीहरूलाई रकम
हस्तान्तरण गर्दैनौं, उनीहरूलाई आयआर्जनका लागि तालिमको व्यवस्था गछौं
ताकि उनीहरूलाई त्यहाँ सिकेको सीपले रोजगारी मिलोस् र समाजमा पुनःस्थापन
हुन सहयोग गरोस्।
यसै गरी नर्वेले शिक्षा मन्त्रालयसँगको साझेदारीमा सेभ द चिल्डे्रन र
युनिसेफसँग मिलेर स्कुल रिर्फम कार्यक्रममा सहयोग गरिराखेको छ। त्रिभुवन
विश्वविद्यालय र काठमान्डु विश्वविद्यालयमा प्रयोगशालाहरू निर्माण
गर्नेदेखि नेपाली विद्यार्थी लाई नर्वेमा अध्ययन छात्रवृत्ति प्रदान
गरिराखेको छ।
नेपाली विद्यार्थी र इन्जिनियरहरूलाई नर्वेमा खास गरी ऊर्जासम्बन्धी
पढाइमा सहयोग गर्नाले नेपाललाई दीर्घकालीन फाइदा पुग्ने राजदूत जिसलसेनको
ठम्याइ छ। झन्डै दुई सय इन्जिनियर नर्वेमा पढिरहेका छन्। यही जनशक्तिले
नेपालको जलस्रोत उत्पादनमा सहयोग गर्न सक्ने उनले बताए।
नेपालको कुल जनसंख्याको ४० प्रतिशतले बिजुलीको उज्यालो देख्न पाएका छन्।
यसमा दैनिक हुने लोडसेडिङको त कुरै बेग्लै छ। यस्तोमा नर्वेको निजी
क्षेत्रबाट ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनामा लगानी भइहेको छ भने
नर्वेकै एसएन पावरले तामाकोसीमा जलविद्युत् आयोजनाको लाइसेन्स पाएको छ।
३६ वर्षघि नेपालसँग दौत्य सम्बन्ध स्थापना भएको नर्वेले इसिमोडसँग मिलेर
जलवायु परिवर्तनलगायतका मुद्दामा सघाइरहेको छ। नेपाल उत्तरी युरोपको चिसो
देशका लागि एउटा ठूलो साझेदार राष्ट्र हो। सन् २००० मा नेपालमा राजदूतावास
स्थापना गरेको नर्वेले शाही शासनकालमा नेपाललाई दिने सहयोगमा १० प्रतिशतले
कटौती गरेको थियो। जनआन्दोलन-२ पछि त्यो कटौती खारेज गरिएको छ।
आमनेपालीलाई सधैं लाग्छ- नेपाली राजनीतिज्ञहरूले अलि धेरै नै समय विदेशी
राजदूतहरूसँग समय बिताउँछन्। तिनले के कुरा गर्दा होलान्- जब नेपालका लागि
नर्वेली राजदूत थोर जिसलसेनलाई यो प्रश्न सोधियो, उनले यस्ता कुराहरू
सार्वजनिक गर्न नमिल्ने बताए। तर उनले राजनीतिज्ञहरूसँग आफूहरूको सम्पर्क
र भेटघाट भने निरन्तर हुने स्वीकार गरे। यसका लागि कुनै खास रुटिन त
हुँदैन तर दुइटामध्ये कुनै एउटा पक्षले आवश्यक ठानेका बेला सम्पर्क हुन्छ।
अरू सामाजिक अवसरका बेला हुने भेटघाट त छँदै छ।
आफ्नो व्यस्त कार्यतालिकाबाट केही फुर्सद मिलाएर राजदूत जिसलसेन चितवन,
धुलिखेल, पोखराजस्ता ठाउँमा पुगिरहेका हुन्छन्। प्रकृत्रि्रेमी यी राजदूत
कामका सिलसिलामा त अझ धेरै गाउँठाउँ डुलेका छन्। काठमाडौंमा हुँदा छोटो
हिँडाइ उनलाई मजा लाग्छ, शरीरलाई फाइदा पनि।
नेपालमा उनलाई मन पर्ने कुराहरू के होलान् त? मसिनो स्वरमा शालीन राजदूतले
भने- ‘यहाँको संस्कृति, मित्रवत् मानिसहरू, प्रकृति।’ राजदूतलाई यति
राम्रो लागेको देशमा लगानीमैत्री वातावरण बनाउन सके, थप लगानी भित्र्याउन
सके गजब हुन्थ्यो होला! पक्कै हुन्थ्यो।
राजदूत जिसलसेनसँग भेटेको दुई दिनपछि नेपालमा काम गर्ने नर्वेलगायतका अरू
ठूला दातृनिकायका प्रतिनिधिहरूले संयुक्त रूपमा वक्तव्य जारी गरे-
लोकतन्त्र स्थापनापश्चात् कानुनी शासन लागू भइरहे पनि विकास कार्यक्रमहरू
सञ्चालन गर्न ठेक्कामा काम लगाउन गाह्रो हुँदै गएको छ र बढ्दो चन्दा
आतंकले विकास कार्यक्रम सुचारु गर्न बाधा पर्दै छ। राजदूतले यो पनि भनेनन्
कि यस्ता विषयमा राजनेताहरूसँग कुरा हुन्छ कि हुँदैन। कुरा भएन भने
नेपालका राजनीतिज्ञहरूले यस्ता विज्ञप्ति के पढ्लान् र यसबारे थाहा होला!
(sharad.chirag@gmail.com) « Go Back |