Interviews » जो घुम्टोभित्रबाट लालसलाम गर्थिन्
जो घुम्टोभित्रबाट लालसलाम गर्थिन्
Posted: January 24, 2010
भोला पासवान
bhola.raj2008@gmail.com
गाउँमा जनावर मरपेछि चमारले अनिवार्य रूपमा फाल्नुपर्ने नियम थियो । कथित माथिल्ला जातका महिला सुत्केरी हुदा चमार महिलाले सुत्केरीको स्याहार गनर्पुथ्र्याे । सुत्केरीको सेवा गरेबापत चमार महिलाले दैनिक आधा किलो धान ज्याला पाउँथे । दलित समुदायमाथि हुने अनेकखाले शोषण, दमन र ज्यादतीका अनेक बीभत्स रूप देखेकी छिन्, भोगेकी छिन् रामरती रामले ।

दलित भएका कारण जातीय भेदभावको जाँतोमा रामरतीले पिसिनु नै थियो । त्यसमाथि, महिला भएका कारण उनी लैंगिक भेदभावको पनि सिकार भएकी थिइन् । छोरी भएकाले समाजका अरू छोरीझैँ उनी पनि शिक्षाको अधिकारबाट वञ्चित भइन् । आफ्नै दाजु-भाइ शिक्षक भइसक्दासम्म पनि उनले स्कुलको अनुहारै देख्न पाइनन् । 'छोरीले पढे त बिगि्रहाल्छन् नि ! अरूको घर जानेलाई पढाएर के फाइदा ? भन्ने गर्थे त्यस वेलाका मान्छे,' रामरतीले बाल्यकाल सम्भिँदै भनिन्, 'दाजु मास्टर हुनुभयो तर मैले भने स्कुलमा टेक्नै पाइनँ । पछि प्रौढकक्षा पढेकी हुँ ।'

दलित, गरिब र महिला भएका कारण रामरतीले भोगेका समस्याको सूची निकै लामो छ । दलितमाथिको उत्पीडन नै उनलाई राजनीति र संघर्षको बाटो रोजाउने कारण थिए । 'जुन ठाउँमा राजनीतिक पृष्ठभूमि हुन्छ, त्यहाँ छुवाछुत कम हुन्छ, तर जहाँ राजनीतिक पृष्टभूमि हुँदैन त्यहाँ छुवाछुत र भेदभाव बढी हुन्छ,' उनको विश्लेषण हो यो ।

१३ वर्षको उमेरमा रामरतीको विवाह भएको थियो । १७ वर्षको उमेरमा पराई घरमा भित्रिएकी रामरतीको जीवनमा त्यसपछि विभेदका नयाँ-नयाँ शृंखलाहरू थपिँदै गए । रामरतीका पिता र दाजु एमालेका कार्यकर्ता थिए । परिवारमा हुने राजनीतिक छलफल उनी चासोका साथ सुन्थिन् । माइतमा आफ्नो परिवार राजनीतिक पृष्टभूमिका भएकाले उनले धेरै विभेद भोग्नुपरेन, जति अरू परिवारका छोरीचेलीले भोग्ने गर्थे । विवाहपछि उनी त्यस्तो गाउँमा पुगिन् जहाँ दलितलाई मान्छे नै गनिँदैनथ्यो । सिराहा जिल्ल्ााको पडरिया गाउँमा रामरतीको घर थियो । उनका श्रीमान् टुहुरा र सुकुम्बासी थिए । उनी अरूका घरमा काम गर्थे । 'मैले पनि श्रीमान्ले काम गर्ने घरमा पाँच वर्षसम्म भातका भरमा काम गरँे,' उनले भनिन्, 'पडरियामा मधेसी दलित हरेक सुविधाबाट वञ्चित थिए । छुवाछुत धेरै थियो यहाँ । ठूला जातकाहरू मात्रै चुनावमा उठ्थे । गाविसमा दलतको प्रतिनिधित्व थिएन ।'

छुवाछुत कतिसम्म थियो भने खेतबाट धान काटेर ल्याइदिने दलितलाई दाइँ गर्दा भने टाढै राख्थे । 'दलितलाई पशुलाई भन्दा पनि नराम्रो व्यवहार गरिन्थ्यो,' उनले भनिन्, 'ठूला जातका छोराछोरीले चोरी गर्दा केही नहुने तर उनीहरूसँगै दलितका छोराछोरी पर्दा पाँच किलोको ढकले मर्ने गरी कुटिन्थ्यो । दलितमाथि हुने यस्तै घटनाले मलाई राजनीतिमा लाग्न प्रेरित गरिरहेका थिए ।'

र, दलितमाथि हुने उत्पीडनको अन्त्य गर्न उनले राजनीति गर्ने अठोट गरिन् । तर, यौटी गरिब दलित महिलालाई समाजले सजिलै राजनीतिमा लाग्न के दिन्थ्यो र ? नेकपा एमालको गरिब, भूमिहीन र सुकुम्बासी मुक्तिको नाराले उनलाई एमालेको राजनीतिप्रति आकषिर्त गर्‍यो र ०५२ सालदेखि एमालेमा सक्रिय हुन थालिन् । 'म २ रुपैयाँ सदस्यता-शुल्क तिरेर एमालेको सदस्य भई राजनीतिमा प्रवेश गरेकी हुँ,' उनले भनिन् । उनको प्रारम्भिक राजनीतिक यात्रामा एमालेका स्थानीय नेताहरूले पे्ररणा दिएका थिए । खेतमा धान रोप्न जाँदा नेताहरू आलीमा बसेर राजनीतिक गफ गरिरहेका हुन्थे भने उनी कान ठाडो पारी सुनिरहेकी हुन्थिन् । 'मैले उनीहरू वामपन्थी हुन् भन्ने बिस्तारै थाहा पाएँ । त्यसपछि म म घुंघटभित्रैबाट मुठी उठाएर लालसलाम गर्थेँ,' उनले सम्भिmइन् । त्यसपछि, नेताहरूले यी दलित महिला पक्कै पनि राजनीतिक पृष्ठभूमिकी हुनुपर्छ भन्ने ठानेर एमालेको गाउँ कमिटीको बैठकमा उनका कुरा उठाउन थालेछन् । 'उनीहरू मलाई कमरेड भन्न सकिरहेका थिएनन्,' उनले भनिन्, 'तर त्यसपछि भने मेरा लागि राजनीति गर्न सजिलो भयो ।'

०००

त्यतिखेर चमार महिला (चमैन) नै प्रसूति डाक्टर हुन्थे । जुनसुकै जातको महिला सुत्केरी गराउने जिम्मा चमैनको हुन्थ्यो । तर, उनीहरूले पाउने ज्याला भने साह्रै थोरै हुन्थ्यो । सुत्केरी गराएबापत १ देखि ५ रुपैयाँसम्म पाउँथे । १२ दिनसम्म सुत्केरीको सेवा गर्नुपथ्र्याे । छटिहारमा पुरानो कपडा र एकछाक खाना पाउँथे चमार महिलाले । 'जब राज्यले सुत्केरी गराउने महिलालाई तालिम, भत्ता र सुविधा प्रदान गर्न थाल्यो वर्षौंदेखि विशेषज्ञ भएर सुत्केरी गराउँदै आएका चमैनलाई भने उपेक्षा गरियो,' उनले मनको तीतो पोखिन्, 'राज्यले पनि चमैनलाई उपेक्षा गर्ने र समाजले पनि उचित ज्याला नदिने भएपछि हामीले त्यो पेसा छोड्ने मानसिकता बनायौँ । त्यस्तै, सिनो बहिष्कार आन्दोलन पनि चलाउने निष्कर्षमा पुगेका थियौँ हामी ।'

उनका गाउँका चमारले सिनो बहिष्कार गरे । 'गाउँमा एकजनाको गोरु मरेपछि चमारलाई फाल्न लगाइयो, तर राम -चमार) हरूले त्यस्तो काम छोडिसकेको भन्दै बहिष्कार गरे,' उनले भनिन्, 'तर ठूला जातकाले चमारलाई गाउँमै नाकाबन्दी लगाए । ठूलाबडाले अर्को दिन पञ्चायती राखेर चमारलाई २५ हजार जरिवाना गरे ।' कथित ठूलाबडाको तर्क के थियो— चमारले सिनो नफालेपछि ठूला जातकाले सिनो फाल्नका लागि गाडी प्रयोग गर्नुपर्छ र चमारले त्यसबापत २५ हजार तिर्नुपर्छ । त्यतिखेर रामरती गाउँको वडासदस्य भइसकेकी थिइन् । उनले कथित ठूलाबडालाई यसो भनिन् रे, 'हामी सिनो फाल्न तयार छौँ हजुर ! तर, हाम्रो पनि समस्या छ । हामीले सिनोे फ्याल्यौ भने हाम्रा जातकाले हामीलाई बहिष्कार गर्छन् । हाम्रा छोराछोरीको बिहे हँुदैन । त्यसैले हाम्रा छोराछोरीको बिहे अब तपाईंहरूले आफना छोराछोरीसँग गर्ने वातावरण बनाइदिनुपर्‍यो । हामी सिनो फ्याल्न तयार छौँ ।' गाउँमा भएको सो पञ्चायतमा उनले 'निकै विनम्रताका साथ' यस्तो प्रस्ताव गरेपछि पञ्चायत हारेको मुद्रामा उठेको थियो ।

चमार आन्दोलनले दलित आन्दोलनलाई राम्रो टेवा दिएको ठहर छ उनको । सिराहामा हरुवा, चरुवा, सिनो, ढोल बजाउने जस्ता शोषणमूलक कुप्रथा व्याप्त थिए । यसैको परिणाम ०५४ सालमा 'सिनो बहिष्कार आन्दोलन' सुरु भयो । यस आन्दोलनकी उनी योद्धा थिइन् । 'सिनो बहिष्कार आन्दोलन' पछि चमारमाथि कुटपिट गर्ने तथा नाकाबन्दी लगाउनेजस्ता कृत्य आरम्भ भए, तर त्यसको सामना गरे दलितले । सिराहाको आन्दोलनका कारण दलित आन्दोलन राष्ट्रिय रूपमा स्थापित भएको उनको दाबी छ ।

'तराईमा सिनो आन्दोलन चलेपछि दलित आन्दोलन देशव्यापी रूपमा परिचित भयो,' उनको कथन छ ।

चमार आन्दोलनको सफलतासँगै उनको राजनीतिक जीवनले पनि सफलता पाउँदै थियो । उनी ०५४ सालको स्थानीय निर्वाचनमा वडासदस्यमा मनोनीत भइन् । वडासदस्य मनोनीत भएपछि कथित माथिल्ला जातिका केही व्यक्तिले उनलाई मन पराएका थिएनन् । 'चमारलाई कसरी वडासदस्य भनेर नमस्कार गर्ने ? यसलाई वडासदस्य बन्न दिनु हुन्न भनेर गैरदलितले मलाई हेला गर्थे,' उनले आफूमाथि भएको अन्याय स्मरण गरिन्, 'तर म अगाडि बढ्दै गएँ ।'

०५६ सालमा भएको संसदीय निर्वाचनमा उनी आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन दिनरात एक गरेर लागिन् । पार्टीका उम्मेदवार रामचन्द्र यादवले चुनाव जिते पनि । तर, हारेका एक उम्मेदवारका मान्छेले रामरतीलाई बर्बर यातना दिए । 'चुनावको परिणाम आएको तीन दिनपछि राति १२ बजे ममाथि ज्यान लिने नियतले हमला भयो । मेरा श्रीमान्लाई गाविस कार्यालयमा थुनेर कुटियो । मलाई नांगै पारेर कुटे,' उनले आफ्नो राजनीतिको यौटा डरलाग्दो अध्याय सम्भिइन् ।

त्यसपछि रामरतीका श्रीमान् र बालबच्चाले यौटै स्वरमा उनलाई अब राजनीति नगर्न आग्रह गरे । 'तर, मैले राजनीति गर्नेले यस्ता समस्या भोग्नुपर्छ भनेर सम्झाएँ,' उनले भनिन् । रामरती विश्वास गर्छिन्— राजनीतिमा धेरै व्यक्ति सहिद भएपछि मात्र एकजना प्रधानमन्त्री बन्छ ।

दलितहरूको राजनीतिक चेतना एकदम कमजोर लाग्छ उनलाई । भन्छिन्, 'अहिले पनि दलित दारु र मासुमा बिक्छन् । कुन पार्टीमा, कुन वर्गमा लाग्ने चेतना छैन उनीहरूलाई । लोभलालचमा पर्छन् । आफूहरूलाई कसैले गोटी बनाइरहेको बुझ्न सक्दैनन् ।' तर, ऐतिहासिक पेलानमा परेका दलितलाई चेतना र विचार आर्जन गर्न समय लाग्ने कुरा स्विकार्छिन् उनी ।

०००

रामरती राम ०६२ सालमा नेकपा एमालेको सिराहा जिल्ला कमिटी सदस्य, ०६१ सालमा नेपाली उत्पीडित जातीय मुक्ति समाजकी सदस्य, ०६२ मा अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य भइन् । यसअघि ०५४ सालमा महिला महासंघकी केन्द्रीय सदस्य थिइन् उनी । निरन्तर सक्रियताकै कारण एमालेले उनलाई संविधानसभाको चुनावमा समानुपातिक उम्मेदवार बनायो । सभासद् बनेपछि आफ्नो जिम्मेवारी बढेको सुनाउँछिन् उनी । राजनीतिक नाराले संघर्षमा होमिएकी रामरतीलाई राजनीतिक पार्टीको नारा र व्यवहार फरक भएकामा दुःख लागेको छ । उनी भन्छिन्, 'नारा र भाषणजस्तो व्यवहार पाइनँ । दलले झुट बोले जस्तो लाग्छ ।' राजनीतिक पार्टी दलितका मुद्दामा संवेदनशील नभएको उनको ठम्याइ छ । त्यसैले दलितहरू आफैँ एकजुट भएर संविधानमा आफ्नो हक सुनिश्चित गर्न अग्रसर हुनुपर्ने आवश्यकता देख्छिन् उनी । दलित भएकै कारण धेरै उत्पीडन खेपेकी उनलाई यतिखेर दलितका पक्षमा संविधान बन्छ कि बन्दैन भन्ने चिन्ता छ । ६ महिने प्रौढशिक्षाकै भरमा अक्षर चिनेकी रामरती फुर्सदका समयमा संविधानसभाका विभिन्न समितिका मस्यौदा अध्ययन गर्छिन् । रामरतीले प्रकाश मानवअधिकार वर्ष पुरस्कार २०६२ पाइसकेकी छिन् ।
Source: www.nayapatrika.com



« Go Back
Supporters / Sponsors :