More Articles
Articles » दलित आन्दोलनका सक्कली र नक्कलीहरु
दलित आन्दोलनका सक्कली र नक्कलीहरु
Posted: July 27, 2009
-सरोजदिलु विश्वकर्मा
वर्षायाम भरी नदेखिने काला काकाकुल र वकुल्लाहरु माघ लागेपछि मधेशका हरियालीमा चर्न झरेझैं दलित मुक्तिकर्मीहरु भनाउँदाहरु त्यसैगरी पिशावको न्यानो छउन्जेल आफ्नै कुना-कोठरीमा मस्त हुन्छन् । अनि जव आन्दोलनको परिवृतमा हरिया डलरको गन्ध चल्न थाल्छ त्यसपछि ती दलितको ुदु सुन्न नचाहनेहरु गाउंघरका फाटेका दौरा र च्यातिएका पटुकी लाउनेहरुलाई देख्दा पंखा हम्किनेहरुसमेत दाह्रा-बंगरा तिखारेर थुतुनो र गुथुनो धोईपखालेर दलित आन्दोलनमा नम्वरी हुन आईपुग्छन् । तर जव यिनको तुनो-फेरो बदलिन थाल्छ गालामा राता-चिल्ला मसाला लाग्न थाल्छन् यिनीहरु आन्दोलनलाई भकुण्डो हानेर पश्चिमी क्षितीजतिर ओथारो बस्न भुरर्र उड्दै हराउँछन् र आन्दोलनमा खाइपाएको चारो पचाउँदै तिनले त्यतैतिर पेट्मा मुगा जमाउन थाल्छन् । अनि एकएक वटा ल्यापटपलाई काखमा राखेर आफूले खाएपचाएको स्मृति र विस्मृति लेख्न थाल्छन् । न यिनले यो भूमिलाई केही दिन्छन् न त आन्दोलनको परिवृतमा केही नै छोडेर जानेवाला नै छन्् । हद् भए जोईपोई च्यापेर एक कुनामा निदाउने र खाईपचाउने मात्र हो तिनका धन्दा ।
दलित आन्दोलनलाई आफ्नै पुरानो विरासत भन्ने अर्कोथरी पनि छ जो ठूला-ठूला महलमा बसेर आफ्ना वंशहरुलाई भने आन्दोलनभित्र आउनै दिदैंन । अर्थात उनीहरु आफ्ना सन्तानहरुले शोषक सामन्तका छोराछोरीसरह पींधमुनि कट्टु लगाएर गल्ली चाहरेकै मन पराउँछन् । र गैरदलितलाई गाली गर्दै आफ्ना सन्ततीलाई विदेश भसाउने बाटो खन्दै छन् । अनि फुई लगाउँछन् मेरो यो त्यो फलानो चिलानो याहाँ-त्यहाँ छ भनेर । हामीलाई राम्ररी थाहा छ शहरमा एउटा डेरा जमाउनसाथ आफू मात्र नम्वरी ठान्दै दलित आन्दोलनमा अनवरत लाग्ने बाँकी जतिलाई हरीकङ्गाल भन्नेहरु जहाँ भएपनि ती कुन हालतमा छन् भन्ने कुरा । तिनका इतिहास-वर्तमान ऐनाजस्तै छर्लङ्ग छन् । विचराहरु एउटा अब्बल नागरिक हुनसम्म पाईरहेका छैनन् र एक छाक खानैमा मात्र महागर्व गर्दैछन् जुन तिनकै घरका पाल्तु जनावरले पनि त खाईरहेकै छन् । यिनका वारेमा यति नै कुरा गरौं ।
तेश्रो तप्काः- जो आज पनि साउनेती र चैतेती उठाएर दलितकेा मुक्ति खोज्दैछ र दुई-चारवटा गोरा छालाहरुले आफूलाई पत्याउनासाथ आफूलाई अजम्वरी ठान्दैछ । तर फरक यति हो हिजो हाम्रा बाबुवाजेहरु मौखिकरुपमा जदौ ख्वामित् गर्दै अन्न जोहो गरेर जीवन धान्न बाध्य थिए भने यी नयाँ वालीघरेहरु तिनै वावुवाजेको कहानी गाउँदै तिनै स्वदेशी-विदेशी विष्टसंग लिखितरुपमै अंग्रेजीमा जदौ-ख्वामित गर्दैछन् । जो ुड्यालिट्ु भनिनसाथै गरुडको छाँयामा सर्प लुट्पुट्टिए झैं लत्याकलुतुक्क परिहाल्छन् । तिनीहरु राज्यलाई दललाई नेतालाई गर्नसम्म गाली गर्ने अनि कमाउने र जमाउने मौका पाउनसाथ विदेशतिरै चौका हान्ने प्रतिष्पर्धामा छन् । जदौ छ- यी महामहिमहरुलाई । अनि यो परिवृतभित्र एउटा भिन्न समुह पनि छ- डिजीटल महिला । जो दुःखी-दरिद्र महिला चरित्रको अभिनय गर्दै बढी डिजिट्का लागि सौतैमा चढेर भएपनि विदेशमा हराउने नेपाली हिरोईन् जस्तै डिजिटल पोई श्रीमान प्राप्तीकै लागि दलित आन्दोलनमा लागेका छन् । अर्थात चोर-डाका माफिया ड्रगिष्ट राष्ट्रघाती बलात्कारी वा प्रत्येक मुलुकमा श्रीमती बनाउँदै र छाड्दै हिडेकेा भएपनि ५-६ डिजिटको तलव खाने पोई प्राप्ती नै उस्को प्रमुख लक्ष्य हुन्छ । अथवा अरुलाई समानता र सम्मानको पाठ् सिकाउँदै ऊ आफू चैं नवसामन्त देखिन चाहन्छे र यसैलाई दलित मुक्ति ठान्दछे । यिनीहरु पनि गरीव सर्वहारा उत्पीडित दलितकै मुक्तिमा लागेका छन् । त्यसैले यिनलाई मैले डिजिटलस्तरमा राखेकेा छु जसलाई कहिलेकाहीं भन्न मन लाग्छ- ए…! आआफ्ना जोइपोई च्याप कुनातिर पस बक्बक् नगर ।
चौथो थरी समुह पनि छ- दलित आन्दोलनमा तिनीहरु आफूलाई सक्कली दर्जाका राजनीतिक क्रान्तिकारी भन्न मन पराउँछन् । जस्को क्रान्तिकारिता भनेको उही बावुवाजेका ख्वामितज्यूका दरसन्तानकै ज्यू-हजुरी गर्नु हो । तिनको तथास्तुविना यिनका धोतीका जुम्रा पनि झर्नेवाला छैनन् तिनका निगाहविना यिनका परेली झिम्किनेवाला छैनन् । हो यो भित्र केही राम्रा पनि छन् ईमान्दार पनि छन् वास्तवमै क्रान्तिकारी पनि होलान् तर आजसम्म राजनीतिक रजतपटमा पद ग्रहण गर्ने अधिकांशको दैनिकी भनेको जी-हजुरी गर्नु कुनै फोरम भेट्याए भने पुच्छर ठाडो पारेर विनाअध्ययन विनासाधना पदौरो गफ लगाउदै वाहुनवादी सामन्तहरुको खैरो खन्नु तथा पद पाउनका लागि फेरि तिनै सामन्ती दलाल र जनता हलालहरुको तप गर्नु तथा पद पाएपछि िझंगा मारेर बस्नु नै यिनको कर्तब्य हो । ती सामन्त दलाल तथा वाहुनवादी हैकमवालाहरुलाई राष्ट्रका लागि नयाँ सोच भएका सहयोगीहरु होईन यस्तै पात्रहरु सजिला छन् जस्लाई गोजीबाट निकालेर सजिलै राख्न र फ्याँक्न सकिन्छ । फरक यति होः हिजो दरवार र भाई-भारदारको चाकरी गरेर मात्र पद् पाईन्थ्यो भने आज कुनै हैसियत बनाउन यिनै खाईपाई आएका छोटा राजाहरुको घरवारदेखि धाउनेदेखि गर्दनमा यिनका तरवारसम्म बोक्ने गर्नुपर्दछ । यस्ता क्रान्तिकारीलाई पनि सलाम छ ।
यस्तै छ हाम्रो दलित आन्दोलन । कोही चैं भने आन्दोलनकै सेरेाफेरोमा आफूलाई यसैत्यसै विलाईदिन्छन् यहींभित्र हराइहिन्छन् जसले यो आन्दोलनमा धेरै उकाली ओरालीहरु पारगरेका छन् धेरै रुझेका छन् भिजेका छन् धेरै जोर चप्पल फटाएका छन् । तर विचरा उनीहरु टीआर रुपलाल जवाहर रोक्का र लालवहादुर खाती झैं विनामोल मर्दैछन् । यिनलाई उपरोक्त विदेशीभक्त झण्डाभक्त र डण्डाभक्त मान्छेहरुले पत्याउँदैनन् । अथवा एन्जिओको पैसा नपाएको भनेर उस्लाई कतै बोलाईन्न अथवा कुनै भिन्न पार्टीमा लागेको भनेर दुत्कारिन्छ । कहिलेकाही त तिनै वाहुनहरुका जजमानी धर्म-भिक्ष्ाहरुले थरीथरीका वादी भनेर उस्लाई विाचत गर्दछन् । तर पक्का नम्बरी भने यिनै हुन्- जो हुँदापनि नहुँदा पनि आरोहमा पनि अवरोहमा पनि असहजता पनि सहजतामा पनि यही माटोमा थिए र एकमुठी स्वास रहुन्जेल यही रहेर संघर्षकै मैदानमा आफूलाई खार्दै-तिखार्दै लैजान्छन् अथवा जहीँ रहेर पनि भावि पीँढिको सम्मान र समृद्धिका खातिर नैतिक र भौतिक सहयोग गर्दै रहन्छन् । यिनलाई चैं सास्टाङ्ग प्रणाम !!!

« Go Back
Supporters / Sponsors :