More Articles
Articles » बाँदरलाई पगरी !
बाँदरलाई पगरी !
Posted: June 30, 2009
उर्मिला विश्वकर्मा
ललितपुर, प्युटारकी प्राध्यानाध्यापिका विमला लामाले शिक्षितपनको नमुना पेस गरिन्, कल्लीकुमारी विकलाई बोक्सीको आरोपमा दिसा खुवाएर । सुनेकी थिएँ, यस्तो कूकर्मको फलस्वरूप उनले गाउँ छाड्नुपरेको थियो, जागिरबाटै हात धुनुपरेको थियो । तर, कल्लीकुमारीमाथि अपमान गर्ने लामालाई गाउँमा सम्मान गरियो र शिक्षिकाकै रूपमा काममा फर्काइयो भन्ने खबरले मनमा थुप्रै प्रश्न उठायो । 
पहिलो प्रश्न प्युटारवासीकै व्यवहारमाथि उठ्यो : के अब विद्यार्थीले उनीबाट गरिब महिला बोक्सी ठहर्‍याउने ज्ञान र बोक्सीलाई बकाउने पाठ सिक्ने भए ? कानुनी सजाय भोग्ने क्रममा तारेखमा मुद्दा खेपिरहेकी व्यक्तिले सुन्दर भविष्य बोकेका बालबालिकालाई के शिक्षा देलिन् ? मुहानै फोहोर भएपछि पानी कसरी सफा बग्न सक्छ ? अब उनले पढाएका विद्यार्थीले अरूलाई बोक्सी भन्दै अपमान गर्दै हिँड्ने त होइन ? 

जिल्ला शिक्षा कार्यालय, ललितपुरसँग पनि प्रश्न उठेको छ, सभ्यता सिकाउने वा शिक्षा दिने शिक्षा-नीति र उनको व्यवहार कहाँनेर मेल खान्छ ? मेल खान्छ भने भोलिदेखि नै जिल्लाभरिका सबै विद्यालयमा बोक्सीको आरोपमा दिसा खुवाउने, जातीय आधारमा भेदभाव गर्ने, घरेलु हिंसामा संलग्नका लागि र हिंस्रक पुरुषहरूका लागि छुट्टै आवेदन खोलेर शिक्षक नियुक्ति गर्न सुरु गरे हुने हो कि ? तपाईंको शिक्षा-नीतिले मान्छेलाई मान्छे बन्न सिकाउँछ कि ढुंगे युगमा फर्काउन ?

मानवअधिकारवादी र महिलावादीका व्यवहारबारे प्रश्न उठेको छ, तिनका आँखा पनि गरिब र दलित महिलाका पक्षमा किन नखुलेको होला ? ठूला होटलमा महिला हिंसासम्बन्धी गोष्ठी चलाइरहँदा पोखरामा विश्वकर्मा महिला बोक्सीको आरोपमा गाउँबाट निकालिँदा, अन्तरजातीय विवाहका कारण कतिपय महिलाले यातना भोगिरहँदा पनि तिनले आफ्नो कित्ता छुट्याउन सकेनन्, किन ? कल्लीकुमारी न्यायका लागि गल्ली-गल्ली रुँदै हिँड्दा तिनका हातले आसुँ पुछ्न सकेनन् । उनी कुनै नेताकी श्रीमती भइदिएका भए उनको न्यायका लागि कत्ति फिट माथि उफ्रिएको दृश्य देखिन्थ्यो होला ।

विमला गाउँमा सम्मानित हुँदा थुप्रै कल्लीकुमारजस्ता थुप्रै दलित, गरिब र महिलामा अपमानित भए, जसले धेरै अपराधीको मनोबल बढाएको छ । यस्ता अपमानजक घटनामा जनताका नाममा राजनीति गर्ने राजनीतिकर्मीको भूमिका पनि प्र्रश्नको घेरामा परेको छ । अभियुक्तका काका कपिल लामा यो घटनालाई राजनीतिकरण गर्न निकै लागिपरेका थिए, जो नेपाली कांग्रेसका जिल्ला उपसभापति र नेपाली कांग्रेसको तामाङ जातीय मोर्चाका अध्यक्ष पनि हुन् । यो घटनालाई राजनीतिकरण गर्ने क्रममा अपराधलाई राजनीतिक रंग दिने र अपराधीलाई संरक्षण दिने काम गरिएको अवस्थामा सम्बन्धित पार्टी-नेतृत्वले यस विषयमा जवाफ दिनुपर्छ । 
अरू विषयमा निकै छिटो प्रतिक्रिया दिने नेपाली कांग्रेस र अन्य राजनीति दलले पनि यस विषयमा विशेष चासो देखाएका छैनन् । कल्लीकुमारी आफ्नो पार्टीकी कार्यकर्ता नभएकीले होला, नेकपा एमाले पनि यसमा मौन छ । जनयुद्धमा दलित महिलाको योगदानको प्रशंसा गरी नथाक्ने प्रचण्ड नेतृत्वको सरकारले पनि अपराधीलाई कारबाही गर्न सकेन । 

राजनीतिक संरक्षणका कारण प्रहरीले अझै अन्य दोषीलाई पक्राउ गर्न सकेको छैन । अतः सवाल उठेको छ, के नयाँ नेपाल भनेको दण्डहीनताको नेपाल हो ? के अपराधीलाई संरक्षण गर्ने कानुन बनाउन नै दलहरूलाई संविधानसभाको निर्वाचनमा जनताले निर्वाचित गराएका हुन् ? यो घटनामा विमलालाई पुनः सम्मान गरिनु र दलहरूले चाहिँ निरीह भएर टुलुटुलु हेरिरहनुले नयाँ नेपाल 'नयाँ बोतलमा पुरानै रक्सी' हुने खतरा बढेको छ । राजनीतिक दलहरूले चाहेको नयाँ नेपाल त्यही पुरानै नेपाल हो भने बाँदरलाई पगरी गुथाउने र अपराधीलाई सम्मान गर्दै हिँड्ने कार्यक्रम तय गरे कसो होला ?
श्रोत: नयाँ पत्रिका दैनिक June 30, 2009 

 

« Go Back
Supporters / Sponsors :