More Articles
Articles » छुवाछूत ज्यूँका त्यूँ
छुवाछूत ज्यूँका त्यूँ
Posted: November 4, 2010
कमल नेपाली
जनआन्दोलन-२ को सफलतासँगै पुनःस्थापित प्रतिनिधिसभाले ऐतिहासिक घोषणाहरूको चांग नै लगाउने क्रममा २०६३ जेठ २१ गते मुलुकलाई छुवाछूतमुक्त घोषणा गरिएको थियो। आज उक्त घोषणा पाँचौ वर्षमा प्रवेश गरको छ।
मुक्ति घोषणाको वाषिर्की बढ्दै गइरहेको छ तर छुवाछूत हट्न त परै जाओस् घट्ने सुरसारसम्म देखिएन।

कुनै योजना र प्रक्रियाविना गरिएको हतारको यो लतारपतारले सिन्को नभाँचेको बुझन सकिन्छ। यही दुर्वलताको फाइदा उठाउँदै डोटीको शैलेश्वरी मन्दिरमा धावा बोलिएको घटना आज पनि बासी भएको छैन। मुक्त भनिएको तीन महिना पनि नबित्दै दलित दनकमा परेका थिए। मन्दिर प्रवेश गर्न गएका दलित मात्र होइन, निषेधको विरुद्धमा बोल्ने पत्रकार र मानवअधिकारकर्मीहरूसमेतले सास्तीको सामना गर्नुपरेको थियो। स्वघोषित शुद्ध र सद्धेहरू शूद्र बनाइएकाहरूमाथि अन्धाधुन्ध खनिएका थिए।

उच्चस्तरीय घोषणाहरूको खिल्ली उडाउँदै पछिल्लो पटक गत वैशाख ६ गते जातिभेदको एउटा खबर आएको थियो। ०६६ चैत ६ गते प्रेमविवाह गरेका हेटौंडाका २० वर्षीय रामचन्द्र खतिवडा आफ्नै अभिभावकद्वारा घरनिकालामा परे। यो तल्लो जातिकी भनिएकी सानुमाया विकसँग अन्तरजातीय दाम्पत्य जीवन शुरु गर्नुको परिणाम थियो।

फगत एउटा घटना मात्र होइन छुवाछूतको त यहाँ शृंङ्खला नै बनेको छ। ०६६ माघयता सञ्चारमाध्यममा आएका केही घटना मात्र हेर्ने हो भने पनि देखिनेछ कति जातीयताका मानवताविरोधी कर्तुतहरू भएका छन्। माघ २७ को समाचारका अनुसार जिल्ला प्रशासन कार्यालय डोटीका नासु अशोक सार्कीले दलित भएकै कारण डेरा पाएनन्। फागुन ८ गते अन्तरजातीय विवाह गरेका धनकुटाका लक्ष्मी परियार र सोही गाउँकी सीता श्रेष्ठ थुनिए। गतवर्षहोलीको दिन गैरदलितलाई अबिर दलिदिएकै निहुँमा कञ्चनपुरका रतन आग्री निर्घात गोदिए। सोही दिन काभ्रे शारदाबतासेकी बालिका पार्वती विक पानी भरेको डेक्ची छोएको दोषमा कुटिइन्।

त्यस्तै २४ फागुनको समाचार थियो- बर्दियाका लक्ष्मण विश्वकर्माले सिर्जना बाँस्तोलासँग विवाह गरेपछि गाउँ छाड्नुपर्यो। अनि २५ फागुनमा धादिङका कृष्ण रम्तेल र पार्वती श्रेष्ठले अन्तरजातीय विवाह गरेकै कारण त्यस गाउँका दलित र्सार्वजनिक धारामा पानी लिनबाट वञ्चित भएको खबर आयो। त्यसै गरी ३० चैतमा अर्को खबर आयो- धादिङकै ज्यामरुङ गाविसका दलित पानी प्रतिबन्धमा परे।

कुराहरू अग्रगामी भए काम भने प्रतिगामी। हरेक नयाँ वर्षरू नयाँ सोच र कर्मका लागि हुनुपर्ने हो तर प्रत्येक वर्षफेरिने क्यालेन्डरसँगै हाम्रा ‘बिहेवियर’हरू फेरिएनन्। उठेका (जागेका) मान्छेहरू कीटपतंगको अधिकारका लागि समेत लड्न लागिसके तर कुम्भकर्ण निद्रामा घुरिरहेका हामी कुकुरसँग बसेर मान्छेसँग परैबाट व्यवहार गर्ने र छोइहाले छिटो र्छकने बाजेबराजुकै बिँडो थामिरहेछौं। बिरालो बाँध्ने अन्ध परम्परालाई पोसेर भुस्तिघ्रे बनाइरहेछौं, दलितविरुद्ध लड्न।

अठारौं शदीको पुनर्जागरण अभियानले विश्वभर नै सामाजिक रुपान्तरणको माहोल सिर्जना गरेको भए पनि हाम्रोमा भने सामाजिक सुधारको नाममा टारिने झाराहरू कायम छन्। सामाजिक सहअस्तित्वका कुरा त परका भए आफैंले तिरेको तिरोबाट बनाइएका मठमन्दिर र धारापँधेराजस्ता र्सार्वजनिक थलो उपभोगको अधिकारमाथि समेत कैंची चलाइनु आफैमा लज्जास्पद कृत्य हुन्। कानुनहरूको निरन्तर उल्लंघन भइरहने र दण्डहीनता कायम सहनुले यसलाई पृष्ठपोषण गरिरहेको छ। कुरा २१औं शदीको काम भने अठारौं शदीको गर्दै हिँड्ने हो भने हामी मानव विकास सूचकांकमा सधै पछाडिबाट प्रथम नभइएला भन्न सकिन्न।

गैंडालाई थाहा छ गोब्य्राउने बेला मात्र पछि हट्नुपर्दछ तर हामी प्रशस्तै गिदी भएका भनिनेहरूमा एउटा जनावर गैंडामा जति ज्ञान पनि भएन। र, त उल्टो हिँडाइको निरन्तरता क्रमभंग भएन। एउटा पोखरीमा पशुपन्छीहरू स्वतन्त्र रूपमा आउँछन्, प्यास मेट्छन्, तृप्त हुन्छन्। को शुद्ध ? को शूद्र ? कसैलाई पर्वाह हुन्न। कति स्वस्थ समाज छ विवेकहीन भनिएकाहरूको। यता विवेकका कुवेर कहलिएका हामी भने आफ्नो आस्थाको देवता पुज्न समेत बन्देज गरिरहेछौं स्वधर्मी स्वजातिलाई। नछुने भएकाले अरे ! आत्ममूल्यांकन गरौं हामी विवेकशील कि विवेकहीन हुने ?


« Go Back
Supporters / Sponsors :